सिक्रेदोभान पुल र बाटो बन्यो , खानीखोलाको विकासमा नयाँ आशा

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–५ सिक्रेदोभानमा बागमती नदीमाथि निर्माण भएको पुल र बाटोब बनेसगै स्थानीयवासीमा खुसी छाएको छ। लामो समयदेखि पुलको प्रतीक्षामा रहेका खानीखोलाका नागरिकमा खुसी छाएको हो ।

भौगोलिक रूपमा विकट खानीखोलामा वर्षायाममा सडक र खोलानालाका कारण आवतजावतमा समस्या हुँदै आएको थियो। पुल र बाटो नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने तथा मकवानपुरको हेटौँडालगायतका क्षेत्रमा पुग्न घुमाउरो बाटो प्रयोग गर्नु परेको थियो।११५ मिटर लामो पुल निर्माणका लागि २०७४ असार ३० गते सम्झौता भएको थियो। २०७६ भदौ ३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम वर्षौँसम्म अघि बढ्न सकेको थिएन।

अहिले पुल र बाटो निर्माण भएपछि खानीखोला र मकवानपुरतर्फको आवतजावत सहज भएको छ। यसले स्थानीयको दैनिक आवतजावतसँगै स्वास्थ्य, शिक्षा, कृषि उत्पादन र व्यापारमा समेत सहज भएको छ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभान पुल र बाटो बनेपछी खानीखोलाको विकासका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए। “खानीखोला भौगोलिक रूपमा विकट क्षेत्र हो। पुल र बाटो निर्माणले बिरामीलाई उपचारका लागि बाहिर लैजान, विद्यार्थीलाई शिक्षा लिन जान र किसानलाई आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउनेछ,” अध्यक्ष थिङले भने।पुलले काभ्रेको खानीखोला तथा महाभारत क्षेत्रलाई मकवानपुरको बागमती गाउँपालिकासँग जोड्ने भएकाले यसको रणनीतिक महत्व रहेको थिङले बताएका छ्न।

त्यस्तै, खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले पुल बाटो निर्माण सम्पन्न हुनु स्थानीयको लामो समयदेखिको सपना पूरा भएको बताए। “सिक्रेदोभान पुल यहाँका नागरिकको लामो समयदेखिको माग थियो। पुल निर्माणका लागि पालिका अध्यक्षज्यूको अथक प्रयास र निरन्तर पहल महत्वपूर्ण रह्यो। अब यस क्षेत्रका नागरिकले आवतजावतमा ठूलो राहत पाउनेछन्,” वडाध्यक्ष स्याङ्तानले बताए।

उनका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन, बिरामीलाई समयमै स्वास्थ्य संस्थामा लैजान तथा विद्यार्थीलाई बाहिरी क्षेत्रमा अध्ययनका लागि जान सहज हुनेछ।

पुलले खानीखोलालाई मकवानपुरतर्फ थप नजिक बनाउने अपेक्षा गरिएको छ। हेटौँडासँगको आवागमन सहज हुँदा स्थानीयले स्वास्थ्य उपचार, शिक्षा, रोजगारी तथा व्यापारका नयाँ अवसर पाउने सम्भावना बढेको छ।

विशेषगरी कृषि उत्पादनका लागि पनि पुल महत्वपूर्ण हुने स्थानीयको विश्वास छ। गाउँमा उत्पादन हुने तरकारी, फलफूल, दूध तथा अन्य कृषि तथा पशुजन्य उत्पादन बाहिरी बजारसम्म पुर्‍याउन सहज भएपछि किसानले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ।

वर्षौँदेखि विकासको मुख्य प्रवाहबाट टाढा रहेको खानीखोलाका लागि सिक्रेदोभान पुल एउटा संरचना मात्र नभई दुर्गम बस्तीलाई स्वास्थ्य, शिक्षा, बजार र रोजगारीका अवसरसँग जोड्ने माध्यम बनेको छ।

पुल निर्माणमा भएको लामो ढिलाइका कारण स्थानीयले वर्षौँसम्म समस्या भोग्नुपरे पनि अहिले निर्माण सम्पन्न भएपछि समस्या अन्त्य भएको छ। अब पुलको नियमित सञ्चालन, संरक्षण र यससँग जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित बनाउनु अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ।

वर्षौँको प्रतीक्षापछि सिक्रेदोभानमा पुल बनेको छ। स्थानीयको संघर्ष र जनप्रतिनिधिको निरन्तर पहलबाट बनेको यो पुल बाटो बने पछि खानीखोलाको विकास यात्रामा फडको मारेको छ।

सम्बन्धित खवर