भगवानको कृपा प्राप्तगर्न मनको मैलो पखाल्नु पर्छ । मनको मैलो धोएर जाँदैन, बरु भगवानसामु रोएर जान्छ । अब मनमा प्रश्न आउला ‘त्यो कसरी?’ उपाए सरल छ- भगवानको तस्वीर, मूर्ती र मन्दिर अगाडि बसेर अथवा एकान्तमै पनि एकाग्र भई शुद्द मनले उनी र उनको लिला स्मरण गरौं, आफूले भूलवश गरेका गल्तीमा प्रायश्चित् भावले उनको शरणमा परेको कल्पना गरौं, यसोगरी प्रेम भावले अश्रुधारा बगाउन सके हाम्रो मनको मैलो पखालिंदै जान्छ र भगवानसंगको सम्बन्ध बन्दैजान्छ । साथै निरन्तर सत्संग र असली गुरुको सानिध्यले पनि मन निर्मल हुँदैजान्छ ।
हो, ‘असली गुरु’, हामीले गुरु सहि पहिचान गर्न सक्नुपर्छ किनकि गेरुवस्त्र धारण गर्ने वा व्राम्हण कुलमा जन्मिने सबै गुरु हुँदैनन् यहाँ त त्यस्तालाई उसै गुरु पदवी दिएर बोलाउने चलन छ । गुरुका केही विशेष गुण र आचरणहरु हुन्छन् अनि असली गुरुका त्यो भन्दा धेरै त्यसैले पढेको वा गरेको भरमा मात्र होइन सुपात्र पहिचान गरेर मात्र धार्मिक कार्यक्रम गर्नु गराउनुपर्छ जसले शास्त्रको सहि अर्थ गर्न सकुन् र विधि ठिकठिक गर्न र सम्झाउन बुझाउन सकुन् ।हामीले गर्ने दान समेत सुपात्रलाई मात्र गर्नुपर्छ नत्र निश्फल हुन्छ भनिएको छ शास्त्रमा आजकल नाचेर गाएर धूप, फलफूल गहना अर्पण गरेर, तीर्थ व्रत वा धार्मिक अनुष्ठान गरेरै भगवानलाई खुशीपार्न सकिन्छ भन्ने विश्वास छ आम मान्छेमा तर ती सब त केवल भगवानप्रति मन लगाउने अभ्यास मात्र हु्न्, बानीपार्ने उपाएहरु हुन्, त्यो नै भगवत् कृपा प्राप्तिको मुख्य उपाए होइन यहीकुरा कतिले बुझ्या छैनन् त कतिले बुझाउन सक्या छैनन् । यी सब गर्नुनै हुँदैन भन्ने पक्कै पनि होइन, गर्दा त्यसले कम्तिमा थोरै समयको लागि भएपनि भगवानको नाम उच्चारण त हुन्छनै तर त्यही गरेरै मात्रैले चाहिँ पार लाग्दैन किनकि त्यो मुख्य विधि हुँदै होइन ।
जसरी गाडी चलाउन सिकाउने व्यक्तिले गाडी चलाउन सिकायो, सिक्नेले गाडी चलाउन जान्यो, अब सहि तरिका र दिशामा गाडी चलाए मात्र ऊ गन्तव्यमा पुग्ने हो । चौरमा गाडी घुमाएरै वा जहिल्यै त्यही दोहोरर्याएर मान्छे गन्तव्यमा पुग्न सक्तैन, ठीक त्यसैगरी हामीलाई गुरुले सिकाएका विधि अपनाउने चाहिँ हो, शास्त्रका कुरा अनुशरण गर्ने चाहिँ हो, सुनेका वा बुझेका कुरा पटकपटक दोहोर्याएर र सुनेर मात्रैले चाहिँ हुँदैन, व्यवहारमै उतार्नु आवश्यक छ ।
शिक्षकले विद्यालयमा पढाउँछन् तर पढेर बुझेपछि त्यही विद्यालयमा सधै पढिरहनु आवश्यक हुँदैन अब पढेको कुरा व्यवहारमा प्रयोगगर्न लागियो भने जीवनयापनको लक्ष्य सहज हुन्छ भनेझैं हामीले आफूले सत्संगमा गुरु पण्डितहरुबाट सुनेका कुरा आफ्नो जीवनमा ढाल्न अभ्यास गरेनौं वा बताइएका विधि अपनाएनौं, खाली त्यस्ता कार्यक्रमहरुमा जाने, सुन्ने वा नाच्ने मात्र गर्यौंभने उही आफूले पढेको विद्यालयमै सधैं अल्झिरहेकोझैं हुनजान्छ जुन न हाम्रो उद्देश्य हो न त पढाउने सिकाउने गुरुहरुकै अर्को गलत प्रवृत्तिले व्यापकता पाउँदैछ आजकल हाम्रा समाजका धार्मिक कार्यक्रमहरुमा सुन्ने मान्छेले गहिरा भाव सहितका पुराना भजन सुन्न छोडेर हो वा त्यसमा कुनै चासो नदेखाएका कारण हो वाध्य भई भागवत चर्चामा समेत साङ्गितिक समूहनै राखेर लोक, आधुनिक पप् र्याप गीतहरुका लयमा शब्द भरेरै भएपनि मान्छेलाई आकर्षित गर्नु र कार्यक्रम भव्य बनाउनु परेको अवस्था छ जुन् विडम्वना हो । सायद हाम्रै देशमा मात्र होला यो मौलाउँदो विकृति, छिमेकी देश भारतकै धार्मिक कार्यक्रमहरुमा त्यस्तो विकृति देखिंदैन, त्यहाँ त गहिरा भाव सहितका मीठा भजनहरु सुन्न पाइन्छन् ।
तर यहाँ त भजनका शब्दनै सकिए जस्तो, सर्जकमा कलानै रित्तिए जस्तो अर्काले तयार गरी गाएका बाहिरी लोक, आधुनिक पप् र्याप् लगायतका (कुनै कुनै त विकृति साँधेका) गीतहरुमै पनि शब्द भरेर धार्मिक कार्यक्रममा भीड जम्मा गर्ने र मान्छे उफार्ने चलन बढ्दो रुपमा देखिन थालेको छ । त्यस्ता नाचले क्षणभरको मनोरञ्जन त देला तर त्यतिलेनै चाहिँ भगवान खुशीहुने अवस्था त बन्दै-बन्दैन किनकि त्यतिखेर भगवानमा ध्यान कम ओरिजिनल गीत र नाचमा ध्यान बढी हुने संभावना रहन्छ जुन प्रभावकारी हुँदैन । “भजनले त भक्तिभाव जगाउन सक्नुपर्छ नकि फगत मनोरञ्जन!” दोस्रोकुरा, भगवानको लागि भनेर तपाई आफैंमा नाचीरहनु भएको छ, खुशी हुनुहुन्छ, भगवानलाई महँगा कपडा, भेटी, गरगहना र मिष्ठान्न भोजन अर्पण गरेर वा आफ्नो किर्तिका खातिर ठूलाठूला धार्मिक अनुष्ठान लगाएर भगवान सामु आफ्नो खुशी, सुख, सामर्थ्य अनि सम्पन्नता प्रस्तुत् गरिरहनुभएको छ भने त्यतिखेर भगवानले तपाईको सुन्न जरुरी के?? भगवानलाई ती सब चिजले खासै मायने राख्छ जस्तो पनि लाग्दैन किनकि यो साह्रा सृष्टी उनकै त हो, उनलाई त्यस्ता चिजको के आवश्यकता? बरु परोपकार गर्न सकियो वा दु:खमा परेको प्राणीप्रति दयाभाव राख्न सकियो भने चाहिँ भगवानलाई खुशी पार्न सकिएला । किनकि, भनिन्छ नि ‘जसको कोही हुँदैन उसको भगवान हुन्छ’ भगवानका नजर सुखमा मात्तिएको मान्छेमा भन्दा दु:ख, अभाव र पीडामा छट्पटिएको प्राणीमा छिटो जान्छ किनकि त्यस्तो परिस्थितिमै त हो सबैले भगवान पुकार्ने! त्यस्तालाई हामीले सहयता गर्न सक्यौंभने ईश्वरको काममा सघाएको अर्थमा सायद उनी खुशी हुन्छन् होला । मान्छेमा अन्य प्राणीमा भन्दा थप वुद्दि, विवेक र ज्ञान भरिदिएकोमा त्यसको सदुपयोग गरेछ भनेर भगवान् खुशी हुन्छन् होला ।
भगवानलाई खुशीपार्न शास्त्रका लामा लामा र अप्ठेरा श्लोक र मन्त्र उच्चारणनै गर्नुपर्छ, पूजापाठ, यज्ञ, व्रत, तीर्थनै गर्नुपर्छ भन्ने हुँदैन । किनकि ती सब ठीक ठीक वा विधि पुर्याएर गर्न कलियुगमा संभव पनि छैन र गलत तरिकाले गर्दा निश्फल हुनेकुरा त शास्त्र स्वयंलेनै बोलिरहेको छ । अब यसरी पनि हुँदैन, त्यसरी पनि हुँदैन, उसोभए गर्ने के त? वा सहि विधि के त? भन्ने प्रश्न यहाँहरुका मनमा उब्जेला, त्यो स्वभाविकै पनि हो । कलियुगको लागि बनाइएको विधि साह्रै सरल छ । पहिलो कुरा त भगवान सबैतिर छन्, हर प्राणीका आत्मामा विराजमान छन् र भगवान कणकणमा हुन्छन भन्ने कुरा विश्वास गर्न जरुरी छ । त्यति बुझ्नसके उनलाई खोज्न अन्त भौंतारिरहनुनै पर्दैन । किनकि भगवान त हामीभित्रै छन्, हामीभने बाहिर खोजिहिड्छौं । उनले सच्चा प्रेम र समर्पण भाव खोजेका हुन्छन् नकि तामझाम सहितका नाचगान र भव्य कार्यक्रम । ती त केवल दिखावा हुन्, मन शान्तिका लागि चाहिँ हुन् । तपाईले गंगामा डुबुल्की मारेकै भरमा कसैको मनको मैलो पखालिएको देख्नुभएको छ? अनि तपाईले घरमा पुजेको वा घर नजिकका मन्दिरभित्र देखेको भगवान् र टाढाटाढाका तीर्थस्थलका भगवानमा के कारणले भिन्नता देख्नुभयो र धाउनुभयो? अब सूर्यको पूजागर्न तपाई सूर्यमा कहिले जाने?? त्यो सब गर्नुनै पर्छ भन्ने छैन, हुनसक्छ धार्मिक पर्यटन र मनोरञ्जनका दृष्टिले हेर्दा हानिकारक त छैन तर त्यहाँ गएपछि वा गंगामा डुबुल्की मारेपछिनै मनको मैलो पखालिन्छ र भगवानको कृपा प्राप्त हुन्छ भन्ने सोच राख्नु चाहिँ गलत हो । त्यहाँबाट फर्केर पनि यदि मान्छे उही पुरानै पारामा काम, क्रोध, लोभ, ईर्श्या हिंसा, मांसहार जीवनशैलीमै दोहोरियो भने त्या गएको लाभ खोइ त?
खासमा प्रभुकृपा त केवल एकाग्र मनले भगवानको रुपध्यान सहितको भक्ति, लिला र उपदेशको स्मरण, प्रेम सहितको आशक्ति अनि पूर्ण विश्वास सहितको समर्पणबाट मात्र संभव छ । ‘भगवानले त राधाको जस्तो प्रेम, हनुमानको जस्तो भक्ति, सुधामाको जस्तो मित्रता र भक्त प्रहलादको जस्तो विश्वास खोज्नुभएको हुन्छ ।’ तर हामीले त्यो सब बुझ्दै बुझेनौं र सधैं केवल राम रमाईलोमै अल्मलियौं, सान्सारिक सुखमै भुलिरह्यौं । अहिलेसम्म आम मानिसले गर्दै आइरहेको सब केवल समाजलाई सत्मार्गमा डोर्याउन गरिने प्रायास हुन्, अनुशासनमा लगाउने विधि हुन् र भगवानमा भक्ति जगाउने उपाए हुन् । हामीले साधन बुझ्यौं साध्य बुझेनौं, त्यसैले मनको मैलौ धोएर भगवानकृपा प्राप्त गर्ने विधि जानिसकेहरुले मूल कर्ममा दत्तचित्त भएर केन्द्रित होओैं, त्यताबाट भगवानकृपा छिटो हुन्छ यसमा दुईमत छँदैछैन! विश्वास् चाहिं हुनुपर्यो । जसरी भक्त प्रहल्लादले खम्बाभित्र भगवान देखे र पाएपनि, हामीले पनि विश्वास गर्नसके टाढा जानुनै पर्दैन, बरु हामीभित्रै हरेक जीवका आत्मामा र कणकणमा ईश्वरको बास छ भन्ने विश्वास गरौं र शास्त्रले भने अनुसार, सत्संगमा सुने अनुसार ठिकठिक विधि अपनाओैं त्यो उपाए सरल र छ र आवश्यक पनि छ । ~ प्रकाश भुर्तेल










