सन्तोष बजगाई
बेथानचोक / काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग, बेथानचोक गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री बेथाञ्चोक नारायण आधारभूत विद्यालयका ९६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
समाजसेवी मिना घिमिरेले आफ्नो जन्मदिनको विशेष अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयलाई आवश्यक स्टेशनरी सामग्री सहयोग गरेकी हुन्।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा मिना घिमिरे उपस्थित थिइन्। सामाजिक अभियन्ता अष्ठमान तामाङ, समाजसेवी राजेन्द्र प्रसाद विश्वकर्मा, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा स्टेशनरी शैक्षिक साधनहरू विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको थियो। विद्यालयका प्रधानाध्यापक श्याम बहादुर लामाले यस्तो सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा सह–प्रधानाध्यापक सिताराम तिमल्सिनाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।










