नेपालको संघीय संरचना अन्तर्गत बागमती प्रदेशको पहाडी भूभागमा अवस्थित दोलखा जिल्लाको शैलुङ्ग गाउपालिकामा माता सीता न्यौपाने र पिता पण्डित शिवप्रसाद न्यौपानेको कोखबाट वि.सं. २०४२ साल कात्तिक ५ गते जन्मिनु भएका ज्यो. ध्रुवराज शास्त्री विगतदेखि नै धार्मिक, वैदिक तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ।
गुरु पूर्णिमाको यस पावन अवसरमा नेत्रवाण अनलाइन खबरका लागि सञ्चारकर्मी सन्तोष बजगाईंले धार्मिक, वैदिक र सामाजिक व्यक्तित्व ज्यो. ध्रुवराज शास्त्रीसँग गर्नुभएको विशेष कुराकानी प्रस्तुत छ…
•गुरुपूर्णिमाको अवसरमा तपाईंलाई कस्तो अनुभूति भइरहेको छ?
गुरुपूर्णिमाको दिव्य दिनमा हृदय गहिरोसम्म भावविभोर भएको छ। यो दिन केवल उत्सव होइन, आत्मचिन्तन र गुरुप्रति समर्पण भाव प्रकट गर्ने अमुल्य अवसर हो।
•तपाईंको जीवनमा गुरुको भूमिका कति महत्वपूर्ण रह्यो?
जीवनमा सूर्यले जसरी अन्धकार हटाउँछ, गुरु पनि अज्ञानको अन्धकार हटाउने ज्योति हुनुहुन्छ । मेरो जीवनमा आर्जित ज्ञानकाे प्रत्येक पलमा चेतनाको स्तर बढाउन गुरुले मार्गदर्शन र अध्यात्म चिन्तन मार्ग देखाइदिनुभयो, जुन अमूल्य छ ।
• गुरुपूर्णिमा किन मनाइन्छ ? तपाईंको बुझाइ के छ ?
गु =अन्धकार वा अज्ञानता रु = उज्यालाे वा ज्ञानकाेमार्ग अर्थात अन्धकार हटाउने’ हो । यसरी, गुरु भनेको आफ्नो विद्यार्थी र शिष्यको जीवनबाट अन्धकार हटाउने व्यक्ति हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ति महान व्यक्ति गुरु हुन् । त्यसैले सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा भएको हुदाँ गुरू पूर्णिमा मनाइन्छ ।
•वैदिक वा सनातन परम्परामा गुरुलाई कस्तो स्थान दिइएको छ?
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः
गुरू साक्षात परब्रम्ह तस्मै श्रीगुरूवे नमः ।।
अर्थात सनातन परम्परामा गुरुलाई त्रिदेवको स्वरूप मानिन्छ। ज्ञानको स्रोत र मोक्षको मार्गदर्शक मानिएको छ। ती मात्र गुरु हुन् जसले हाम्रो मनभित्र भएको अन्धकाररूपी माया र मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउँछन् उनै साक्षात् गुरु हुन् । गुरु नहुँदा कुनै कुरा को ज्ञानको सम्भावना छैन । गुरु एक व्यक्ति हो जसले ज्ञान सिकाउँनु हुन्छ र प्रकाश दिएर हामीलाई सही मार्गमा नेतृत्व गर्न निर्देशन दिन्छ ।
•गुरु–शिष्य परम्परा अहिलेको युगमा कति सार्थक देखिन्छ ?
व्यक्तिको चरित्र निर्माण र जीवनमार्ग स्पष्ट पार्न गुरु चाहिन्छ , गुरु–शिष्य परम्परा अत्यन्त आवश्यक र सार्थक छ।
• बौद्ध, जैन र हिन्दू धर्ममा गुरुपूर्णिमाको फरक–फरक धारणा कस्तो छ?
बौद्ध परम्परामा बुद्धलाई गुरु मानेर श्रावकहरूले स्मरण गर्छन्। जैन धर्ममा तीर्थंकरप्रति समर्पण व्यक्त गरिन्छ। हिन्दू परम्परामा भगवान वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइन्छ। परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिनेचलन थियो , वर्षाैसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समय परिवर्तन भयाे तर गुरुको महत्व कहिले कम भएन । ती हाम्रा गुरु हुन् जसले अज्ञानताको अध्याँरोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउदै परमात्मा र परमधामकाे बाटो देखाउँछन । तसर्थ हिन्दु धर्ममा “गुरु साक्षात परब्रम्ह” अर्थात गुरु साक्षात ब्रम्ह हाे जस्ले परमात्मिय तत्व बाेध गराउछ ।
• आजको समयमा शिक्षक र गुरुबीच के भिन्नता छ?
शिक्षकले भाैतिक विद्याकाे ज्ञान दिनुहुन्छ जस्ले ससांरिक जीवन यापनलाई सहजता प्रदान गर्दछ तर गुरुले आत्मा र परमात्माकाे तत्त्व वाेध गराउदै परलाेककाे यात्रा अर्थात परमधाम प्रयाण गर्न सक्ने सक्षमता राख्दै ज्ञानद्वारा पुनर्जीवन दिनुहुन्छ । साँचो गुरु उनै हुन् जसमा सत्यकाे खाेज गर्न सक्ने क्षमता, आत्मा चिन्तन गर्दै म काे हुँ ? संसार के हाे? मृत्युपश्चातकाे मेराे गन्तव्य के हाे ? अहं ब्रह्मास्मि अर्थात् मेरो शरीर तथा चेतन शक्तिभित्र ब्रह्माण्डको सबै भौतिक तत्व र उर्जा समाहित छ । त्यसैकारण म ब्रह्मको अंश हुँँ ।’र मैले व्रम्हचिन्तन गर्दै व्रम्हलिन हुन सक्नुपर्छ भन्ने अध्यात्मवादकाे ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ । ज्ञानी भएरपनि उनमा घमण्ड रत्तिभर हुँदैन । जसलाई सहि ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिस राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही नै सच्चा गुरु हुन ।
• प्रविधिको युगमा गुरुको भूमिका कमजोर हुँदै गएको जस्तो लाग्दैन?
प्रविधिले सूचना दिन सक्छ, तर आत्मबोध गराउन सक्दैन । संसारका हरप्राणी हर व्यक्तिलाई आनन्द चाहिएकाे छ शान्ति चाहिएकाे छ । प्रविधिले भाैतिक सुख प्रदान गर्ला ? तर आनन्द प्रदान गर्न सक्दैन आत्मिक सुख प्रदान गर्न सक्दैन त्यसैले गुरु उनै हुन् जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ । आत्मावाेध र आत्माचिन्तनकाे माध्यमवाट आत्मा शान्तिकाे अनूभुति गराउन सक्ने क्षमता हुन्छ ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन ।
• आजका युवाहरूमा गुरु–आदर र मार्गदर्शनप्रतिको दृष्टिकोण कस्तो देख्नुहुन्छ?
अझै पनि चेतनशील युवाहरू छन् जसले गुरुलाई हृदयमा स्थान दिएका छन् ।
• तपाईंलाई जीवनमा प्रेरणा दिने गुरु को हुनुहुन्थ्यो? उहाँबाट के सिक्नुभयो?
मेरो जीवनमा प्रेरणाको अमृत प्रदान गर्ने गुरुदेव पुजनिय हजुरवुवा प्रेम प्रसाद सुवेदी हुनुहुन्छ । उहाँ आफै स्वंय भागवत कथाकार हुनुहुन्थ्यो उहाँबाट मैले धर्म अध्यात्म र आत्मा चिन्तनकाे मार्गका विषयमा धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरे उहाँ हमेशा ध्यान र साधनामा रहनुहुन्थ्याे ।
• तपाईं आफैंले कसैलाई गुरु भएर मार्गदर्शन गर्नुभएको छ भने त्यो अनुभव कस्तो रह्यो?
अँ मैले धेरै युवाहरूलाई ज्ञान दिने दिक्षा दिने अध्यातमवादकाे शिक्षा दिने गरेकाे छु । शिष्यको आँखामा विश्वास देख्दा आत्मा पुलकित हुन्छ। मार्गदर्शन गर्नु केवल उपदेश होइन, तिनको पथमा हामी आफैँको प्रतिबिम्ब देख्नु हो।
• समाज रूपान्तरणमा गुरुहरूको भूमिका कस्तो हुनुपर्छ?
गुरुहरूले समाजमा अध्यात्म जागरण ल्याउने सक्षमता राख्नुपर्दछ । युवाजमातलाई याेग ध्यान जस्ता शिविरहरूद्वारा तनाव मुक्त गर्दै आत्मा चिन्तनकाे मार्गद्वारा सबलता, सक्षमता र नैतिक जागरण एवं आत्मबोधको ज्योति फैलाउनुपर्छ जस्ले समाजलाई दुर्व्यसन मुक्त गर्दै शान्त र सभ्य समाजकाे निर्माण गर्दछ ।
• गुरुपूर्णिमा जस्ता संस्कारहरूले हाम्रो सामाजिक मूल्य र चेतनालाई कसरी जगेरामा राख्छ?
कुनैपनि परम्पराहरू आफैमा अर्थपूर्ण र रहस्ययुक्त छन । गुरू पूर्णिमा गुरू र शिष्यकाे सम्बन्धलाई प्रगाढ वनाउने पर्व हाे भने आत्मा–समर्पण, कृतज्ञता र अनुशासनको स्मरण गराउँने पावन पर्व हाे जस्ले समाजलाई आदर्श अनुशासन र सभ्य संस्कृतकाे मूल्यमान्यताको आधारमा एकसूत्रमा बाँध्ने कल्पना गर्दछ ।
• आजको दिनलाई अर्थपूर्ण बनाउन हामीले के गर्नुपर्छ?
गुरुलाई सम्झेर बाह्य फूल होइन, अन्तरमनको निर्मलता चढाउनुपर्छ। आत्मचिन्तन गर्दै समाजकाे भलाई हुने कार्य गर्दै युवा जागरण एवं सेवा समर्पणकाे भाव जागृत गर्नु नै गुरूलाई उच्च सम्मानको सच्चा पूजा हो।
• तपाईं गुरुका रूपमा शिष्यमार्फत कस्तो परिवर्तन देख्न चाहनुहुन्छ?
शिष्यमा विनम्रता, विवेक, आत्मचिन्तन अध्यात्मवाद काे उदय न्यायपूर्ण समाज,अनुशासन र सत्यकाे खाेज समाजसेवाको भाव जागोस्। जीवनमा बाह्य सफलता भन्दा अन्तर चेतनाले जीवन उज्यालो तिर उन्मुख होस् यहि परिवर्तन देख्न चाहान्छु ।
• गुरुपूर्णिमाको अवसरमा नयाँ पुस्तालाई तपाईंले दिन चाहने सन्देश के हो?
प्रिय नयाँ पुस्ता, गुरुलाई केवल सम्मान होइन गुरू प्रदत्त ज्ञानलाई अनुभव गर्न सिक। ज्ञान केवल मात्र सुन्न होइन, आत्मसात् पनि गर्नुपर्दपछ । तपाईँको जीवनमा यदि साँचो गुरुको स्पर्श भयो भने मात्र तपाईं संसार बदल्न तपाईं सक्षम हुनुहुन्छ ।
• अन्त्यमा के भन्नुहुन्छ?
अन्त्यमा नेत्रवाण अनलाईन खबरलाई धन्यवाद । सर्व प्रथम त म तपाइको लोकप्रिय अनलाईन खबरमा मेरो अन्तर्वार्ता प्रकाशित गर्ने अवसर जुटाईदिनु भएकोमा आभार व्यक्त गर्दै समाज उपयोगी हाम्रो सनातन धर्मको मूल्य मान्यतालाई पत्रिका मार्फत जन-जनमा पुर्याई एक सु- सस्कार युक्त, सात्विक , कर्मशील समाज रुपान्तरणको लागि सदा अग्रसर रहने प्रेरणा परब्रह्म परमात्मा अनादि अक्षरातित श्रीकृष्णजीले हामि सबैमा प्रदान गर्नुहुनेछ। धन्यवाद










