सन्तोष बजगाई
झापा / झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपालको झापा जिल्ला कार्य समिति गठन गरिएको छ।
कनकाई नगरपालिका–४ स्थित श्रीकृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन परिषदका सदस्य दिनोज बजगाईंले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी रहेका उक्त कार्यक्रममा प्रणामी व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्ले विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
नयाँ समिति चयनसँगै व्यवसायीबीच आपसी सहकार्य, समृद्धि र आध्यात्मिक आस्थालाई समेट्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।











