काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति, तोडफोड तथा हिंसात्मक गतिविधिप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक भोलाप्रसाद अर्याल र माओवादी केन्द्रका केन्द्रीय सदस्य तेज बहादुर मिजारले हस्ताक्षर गरेका विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले आन्दोलनको क्रममा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
“जेनजी समुहले उठाएका मुद्दाहरू समय सान्दर्भिक भए पनि त्यसलाई राजनीतिक शक्ति र उपलब्धि माथि प्रहार गर्ने ढंगले हिंसात्मक मोडमा लैजानु गलत हो ।” साथै, आन्दोलनलाई गलत ढंगले प्रयोग गरी हिंसात्मक बाटो रोज्नेलाई जनताले चिन्नुपर्नेमा पार्टीले जोड दिएको विज्ञप्तिमा उल्ल्ेख छ, । माओवादी केन्द्रले शान्तिपूर्ण ढंगले संवैधानिक मार्गबाट मात्रै विद्यमान राजनीतिक र संवैधानिक समस्याको समाधान सम्भव हुने उल्लेख गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्नुपर्छ,भन्ने विज्ञप्तिमा उल्ल्ेख छ ।
जेनजी आन्दोलनमा उत्पन्न परिस्थितिले राष्ट्रिय एकता सामाजिक सद्भाव खलल पुगेको र घुसपैठ भएकोले मुलुकलाई थप गम्भीरतर्फ लैजाने खतरा भएको बताउँदै माओवादी केन्द्रले राष्ट्रिय एकता, सामाजिक समावेशीता र संवैधानिक मार्गलाई नै मूल आधार बनाएर अघि बढ्न र लोकतान्त्रिक शक्ति, नागरिक समाज र सम्पूर्ण जनसमुदायलाई पनि संवैधानिक निकासको खोजीमा ऐक्यबद्ध हुन विज्ञप्तिमा उल्ल्ेख छ ।











