आजबाट दुर्गा पक्ष प्रारम्भ, घरघरमा घटस्थापना पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामपूर्वक मनाइने परम्परा छ ।

आज पहिलो दिन घटस्थापना गरी दशैँको आरम्भ गरिन्छ । बिहानै नित्यकर्म सम्पन्न गरी घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिएको छ । पूजा कोठा वा दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गर्दै वैदिक विधिअनुसार पूजा आरम्भ गर्ने परम्परा रहेको छ ।

नजिकको नदी वा शुद्ध स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको दशैँ घरमा राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । दुर्गा देवीको प्रिय वस्तु यवलाई विजयादशमीका दिन टीका प्रसादसँगै ग्रहण गर्ने गरिन्छ, जुन समृद्धिको प्रतीक मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, शास्त्रीय दृष्टिले जमरामा जौ बाहेक अरु अन्न रोप्ने प्रावधान छैन । तर कतिपय परिवारले कुल परम्परा अनुसार अन्य अन्न पनि मिसाउने गर्छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९:१३ बजे तय गरिएको छ । यस दिन विधिपूर्वक स्थापित गरिएको कलशमा दुर्गा देवीको आवाहन गरी पूजा गरिन्छ र विजया दशमीका दिन कलशको जलसहित देवीको प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ