काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको तयारीका क्रममा दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गरेको छ। ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा भएको खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गर्यो। त्यसपछि कतारले २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनमा आफ्नो इनिङ्स सक्यो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।
कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए। मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्का सहित ४० रन जोडे भने मोहम्मद असिमले ३० रन योगदान दिए। नेपालका लागि करण केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक–एक विकेट लिए।
नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनाएको नेपालका लागि कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्का सहित सर्वाधिक ५६ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्का सहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्का सहित ३८ रनमा अविजित रहे। अन्य खेलाडीहरूमा आरिफ शेख १३, ओपनर आसिफ शेख ११ र रोहित पौडेल ८ रनमा सीमित भए।
कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई–दुई विकेट लिए।










