काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेलमा ३ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.४५ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ बढेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले सिमित वृद्धि गरेको हो।
नयाँ मूल्य लागू भएपछि, पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५८.५० रुपैयाँ र डिजेल/मट्टीतेल १४४.५० रुपैयाँ रहनेछ।
दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल १६० रुपैयाँ र डिजेल/मट्टीतेल १४६ रुपैयाँ, र तेस्रो वर्गका काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल १६१ रुपैयाँ र डिजेल/मट्टीतेल १४७ रुपैयाँ प्रतिलिटर कायम हुनेछन्।
खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।










