काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमने-सामने हुनेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको पराजयपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो।
लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो।
आजको खेलमा विजयी हुने टोली फाइनलमा स्थान बनाउनेछ, र त्यसपछि सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ। फाइनल खेल मङ्सिर २७ गते आयोजना हुनेछ।










