काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ। दिउँसो साढे ३ बजे सुरु हुने यस निर्णायक खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्।
सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रा निकै बलियो प्रदर्शन गर्दै तय गरेको छ। लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भएको हो, जुन लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग भएको थियो। त्यसपछि, सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सीधै फाइनलमा स्थान बनाएको हो। गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम यसपटक विजेताको उपाधि जित्ने लक्ष्यमा छ।
अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो। तर यस संस्करणमा निरन्तर सुधार गर्दै, लुम्बिनीले ट्रफी जित्ने दृढ संकल्पका साथ फाइनलमा स्थान बनाएको छ।










