काठमाडौँ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा झण्डाको अत्यधिक प्रयोग रोक्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी नयाँ प्रावधान समेटेको हो।
आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न सकिनेछ। दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग भई दुरुपयोग नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगको भनाइ छ।
प्रस्तावित आचारसंहिताअनुसार उम्मेदवार वा दलको कार्यालयमा तीन × चार फिट आकारको साइनबोर्ड, कपडाको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइनेछ। तर प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ।
यसैगरी, प्रचारका क्रममा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न सकिने प्रस्ताव गरिएको छ। घरदैलो कार्यक्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने व्यवस्था गरिएको छ।
चुनावी प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित हिँड्न नपाइनेछ। अनलाइन, वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम तथा काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न पनि रोक लगाइएको छ। तर राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेवपेजमा प्रचार सामग्री राख्न भने सक्नेछन्।
दलको झण्डा वा दल तथा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सवारी साधन प्रयोग गरी र्याली वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
आयोगले यी प्रावधानहरू निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले प्रस्ताव गरिएको जनाएको छ।










