काठमाडौँ । निर्वाचन आयोगले चुनाव केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न गरेको छ।
आयोगको कार्यालयमा हिजो आयोजित बैठकमा आउँदो चुनावलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधि नियन्त्रण गर्ने र कानूनी दायरामा ल्याउने उपायहरूबारे छलफल गरिएको थियो।
त्यसैगरी, चुनावलाई भयरहित, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गर्ने विषयमा पनि छलफल केन्द्रित थियो।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित निर्वाचन आयोगका पदाधिकारीहरू सहभागी थिए।










