बेथानचोकका बस्तीबस्तीमा परिवर्तनको आवाज लिएर हुँमागाई

बेथानचोक । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ की नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बसुन्धरा हुँमागाई मतदाताको घरदैलोमा सक्रिय हुनु भएको छ। आइतबार उहाँ बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङवेशी पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धता राख्नुभएको थियो। सो क्रममा उहाँले आगामी निर्वाचनमा पार्टीको तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

घरदैलो अभियानको सुरुवात बेथानचोक गाउँपालिका वडा नं. ४ मा पार्टीको वडा कार्यालय उद्घाटनसँगै गरिएको थियो। त्यसपछि पार्थलीमा भेटघाट कार्यक्रम सञ्चालन गर्नुका साथै ढुंखर्कमा वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गरेको थियो। यस्तै, वडा नं. १ मा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरिएको जनाइएको छ।

हुमागाई नेतृत्वको टोलीले वडा नं. १ अन्तर्गतका झिंगे, फुर्केथली लगायत सबै गाउँबस्तीमा पुगेर मतदातासँग छलफल गरेको थियो। स्थानीय नागरिकहरूले यसपटक तारा चिन्हमा मतदान गर्ने साझा निर्णयमा पुगेको जनाउँदै उम्मेदवारप्रति समर्थन व्यक्त गरेका छन्। भेटघाटका क्रममा मतदाताहरूले आफ्ना गाउँ–टोलका विभिन्न समस्या राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटीको बुधबार सम्पन्न बैठकले पार्टी केन्द्रीय सदस्य टोकबहादुर वाइवाको संयोजकत्वमा निर्वाचन परिचालन मूल कमिटी गठन गर्ने निर्णय गरेको छ। उक्त निर्णयसँगै पार्टीले औपचारिक रूपमा निर्वाचन अभियानलाई तीव्रता दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ