खानीखोलामा नेकपाका उम्मेदवार दिननाथ गौतमसँग भेटघाट

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका समितिको आयोजनामा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमसँग अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठक सम्पन्न भएको छ।

माघ १९ गते खानीखोला गाउँपालिका–तालढुङ्गामा आयोजित कार्यक्रममा निर्वाचन परिचालन समितिको बैठकसमेत सम्पन्न गरिएको हो।

कार्यक्रममा उम्मेदवार गौतमले विगतदेखि नै जनताको आवाज उठाउँदै आएको र आगामी निर्वाचनमा एकपटक जित हासिल भए क्षेत्र नम्बर–१ भित्रका जनताको माग तथा आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अन्य पार्टीको तुलनामा नेपाली कम्युनिष्ट पार्टी फरक र नयाँ ढंगले निर्वाचनमा सहभागी हुने, जनताको साथमा उभिने र आफूले बोलेका कुरालाई व्यवहारमा उतार्ने पार्टी भएको दाबी गर्नुभयो।

साथै खानीखोला गाउँपालिका तथा क्षेत्र नम्बर–१ का सम्पूर्ण मतदातालाई नेपाली कम्युनिष्ट पार्टीलाई जिताइदिन हार्दिक अनुरोधसमेत गर्नुभयो।

कार्यक्रमका क्रममा उम्मेदवार टोलीलाई खानीखोला गाउँपालिका–७ स्थित मिल्चेको महांकालमा स्थानीयवासीले भव्य स्वागत गरेका थिए। त्यसैगरी वडा नम्बर–६ को माझिटार हुँदै तालढुङ्गा आइपुग्दा पनि स्थानीय जनसमुदाय तथा कार्यकर्ताहरूले उत्साहपूर्ण स्वागत गरेका थिए।

बैठकमा आगामी निर्वाचनलाई लक्षित रणनीति, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानबारे व्यापक छलफल गरिएको थियो। स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले खानीखोला क्षेत्रमा पार्टीको संगठनात्मक शक्ति थप सुदृढ भएको नेताहरूले बताएका छन्।

उक्त कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य अकल बहादुर थिङ (महेश), निर्वाचन समितिका सहसंयोजक मुकुन्द गौतम, बागमती प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ) समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ( अनुसिल) पालिका कमिटी अध्यक्ष अविरल जिम्बा , बयान सिं लामा लगायत प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी तथा सातै वडाका जिम्मेवार नेताहरूको उपस्थिति रहेको थियो। बैठकबाट तालढुङ्गामा ४५१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ