काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकमा बिहीबार दोहोरो अंकले सुधार आएको छ।
यस साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार २७.१९ अंक बढेर २७०८.७० बिन्दुमा पुगेको छ। सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ।
बिहीबार कारोबार सुरुदेखि नै नेप्से सूचक बढ्दो क्रममा रह्यो। कारोबारमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर किनबेच भएको छ।
नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि बढेका छन्। बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंकले बढेका छन्। तर व्यापार समूहमा भने १८.५१ अंकले गिरावट आएको छ।
बिहीबार नेप्सेमा ३ कम्पनी—कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी—को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ र ४ कम्पनीको मूल्य स्थिर रहेको छ।










