काभ्रे । बेथानचोक गाउँपालिका वडा नं–६ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–१ को निर्वाचन परिचालन कमिटी गठन, सम्पर्क कार्यालय तथा वडा कमिटी कार्यालयको संयुक्त रूपमा उद्घाटन गरिएको छ। कार्यक्रम क्षेत्र नं–१ का प्रत्यक्ष उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले देश जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै निर्वाचन निर्धारित समयमा हुन नसकेको, भ्रष्टाचार, बेथिति र अन्यायका बाबजुद दुई वर्षअघि यो निर्वाचन हुन लागेको बताए। उनले जेन्जी (Gen-Z) आन्दोलनले उठाएका मुद्दाहरू जनताको वास्तविक माग भएको उल्लेख गर्दै ती मागहरूलाई सुरुदेखि नै नेपाली कम्युनिष्ट पार्टीले उठाउँदै आएको दाबी गरे।
“समानुपातिक, समावेशी, आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र मधेसी समुदायका हकहितका विषय नेकपाका मूल एजेण्डा हुन्,” गौतमले भने, “बेथानचोक–६ का जनताले अत्यधिक मत दिएर नेकपालाई विजयी गराउने विश्वास लिएको छु।”
गौतमले यहाँका जनताको समस्या नै आफ्नो समस्या भएको स्पष्ट पार्दै नेपाली कम्युनिष्ट पार्टी अरू पार्टीभन्दा फरक, जनताबाट जन्मिएको र जनताकै पक्षमा उभिने पार्टी भएको बताए। उनले स्थानीय समस्याको पहिचान गरी प्रमुख समस्याबाट समाधानको सुरुआत गर्दै विगतका जनप्रतिनिधिहरूले पूरा गर्न नसकेका कामहरू समेत सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सम्बोधन गर्दै समानुपातिक उम्मेदवार मिना पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य युवा नेता दैबलाल घिसिङ (अनुसिल) र पालिका कमिटी अध्यक्ष तारा राणा (तिमल्सिना) लगायतले यसपटक देशव्यापी रूपमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गरे। उनीहरूले आम मतदातालाई तारा चिन्हमा मतदान गरी नेकपालाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका थिए ! नेताहरूले पार्टी फुटेर होइन, जुटेर अघि बढ्नुपर्नेमा जोड दिँदै नेपाली कम्युनिष्ट पार्टी विगतदेखि नै जनताको पक्षमा संघर्ष गर्दै आएको पार्टी भएको घोषणा गरे।
कार्यक्रममा समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ (अनुसिल), नेता मर्दसिंङ तामाङ (पेमा), बेथानचोक इन्चार्ज जय लामा, पालिका कमिटी अध्यक्ष तारा राणा (तिमल्सिना), युवा नेता बिरेन्द्र लामा (निमा) लगायत प्रदेश, जिल्ला, पालिका र वडा कमिटीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उमेश लामाको अध्यक्षतामा बेथानचोकको भुग्देउमा कार्यक्रम सम्पन्न भएको हो।










