प्रतिनिधिसभा निर्वाचनको तयारी : ४४ जिल्लाका १०० क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ भइरहेको छ। सोमबारसम्म कुल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरको मतपत्र छपाइ भइसकेको छ। त्यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङको मतपत्र पनि छपाइ भइसकेको छ।

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया सहित कुल ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ। छपाइ भएका मतपत्रको प्याकिङ कार्य पनि सकिएको छ र हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणाली अन्तर्गत मतपत्र छपाइ गत पुस २२ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

पुस २६ गतेदेखि सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ माघ १३ गते दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ र रुजु गरी ढुवानी तयारी अवस्थामा राखिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीका लागि दुई करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको र माघ १६ गतेदेखि प्रत्यक्ष मतपत्र छपाइ सुरु भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ