काठमाडौँ । निर्वाचन आयोग ले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
आयोगका अनुसार मतदानका दिन अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने साधन, कूटनीतिक नियोगका सवारी र पास प्राप्त सवारी बाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० राति १२ः०० बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न नपाइनेछ।
त्यस्तै, निर्वाचनको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मुलुकभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरिएको छ।










