काठमाडौँ । आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ। आज बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको हो।
त्यसैगरी, राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको शोक प्रस्तावलाई सदस्यहरूले समर्थन गरेका हुन्।
वि.सं. १९९८ असोज ९ गते जन्मनुभएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य रहनुभएको थियो।
शोक प्रस्ताव पारित भएपछि सभामा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। राष्ट्रियसभाको अर्को बैठक चैत २५ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।










