स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमा सीमित नराखी राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। उनले प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ बनाउन सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसङ्ख्या–स्वास्थ्य प्रवृत्ति तथा सामाजिक–आर्थिक प्रभावबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्ने बताए।

नसर्ने रोगको बढ्दो बोझ, जलवायु परिवर्तनका असर तथा भौगोलिक र सांस्कृतिक विविधताबाट उत्पन्न असमानता जस्ता चुनौती सामना गर्न अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए। साथै, परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानका नतिजालाई नीति, कार्यक्रम र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए।

संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले वैज्ञानिक तथ्याङ्कलाई नीति निर्माणमा रूपान्तरण गर्नु नै संविधानको मर्म भएको धारणा राखे। साथै, अनुसन्धानले चिकित्सक, स्वास्थ्यकर्मी तथा वैज्ञानिकलाई अद्यावधिक ज्ञान प्रदान गर्नुका साथै नीति निर्माता, शिक्षाविद् र विकास साझेदारबीच सहकार्यको वातावरण निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ