काभ्रे — खानीखोला गाउँपालिका–३ मा “सीप सिकौँ, स्वरोजगार बनौँ” भन्ने नारासहित सञ्चालन गरिएको ३० दिने बाँसजन्य सामग्री निर्माण तालिम सम्पन्न भएको छ। प्रदेश युवा परिषद बागमती प्रदेश को आर्थिक सहयोगमा २०८३ वैशाख ३ गते तालिम समापन भएको हो।
बाँसबाट विभिन्न उपयोगी सामग्री तथा सजावटी वस्तु निर्माण गर्ने २० जना सहभागीहरूले व्यवहारिक सीप हासिल गरेका छन्। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ प्रमुख अतिथ्यमा भएको थियो !
प्रमुख अतिथि अध्यक्ष थिङले श्रमशील नागरिकलाई गाउँपालिकाले सधैँ साथ दिने प्रतिबद्धता दोहोर्याए। उनले उत्पादन र बजारीकरणबीचको दूरी घटाउनेतर्फ स्थानीय सरकार सक्रिय रहेको उल्लेख गर्दै “उत्पादन किसानले गर्ने र बजारीकरण गाउँपालिकाले गर्ने” नीति अनुरूप अघि बढिरहेको बताए।
त्यसैगरी गाउपलिका उपाध्यक्ष दोर्जेमान तामाङले तालिमले स्थानीय युवायुवतीलाई गाउँमै बस्दै आम्दानी गर्ने बाटो देखाएको उल्लेख गरे। “विदेशिनु मात्र विकल्प होइन, गाउँमै पनि श्रम र सीपबाट सम्मानजनक जीवनयापन सम्भव छ,” उनले भने, “गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए !”
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सागर तामाङले काभ्रेको विकट भेगमा यस्ता सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको बताए। “यहाँ अवसरको अभाव छ, तर सीप भए सम्भावना प्रशस्त छन्,” उनले भने, “स्थानीय स्रोत–साधनको सदुपयोग गरेर आत्मनिर्भर बन्ने दिशामा यो तालिम महत्त्वपूर्ण कदम हो।”
गत वर्ष सञ्चालन गरिएको महिला सशक्तीकरण कार्यक्रमको निरन्तरताका रूपमा तालिम आयोजना गरिएको हो। विकट भूगोल, सीमित अवसर र चुनौतीका बीच पनि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको सहभागीहरूले बताएका छन्।
यस किसिमका तालिमले काभ्रेका दुर्गम बस्तीहरूमा आर्थिक गतिविधि विस्तार गर्दै आत्मनिर्भर गाउँ निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। खानीखोला गाउँपालिका वडा नं. ३ कार्यालय को आयोजनामा सञ्चालन भएको तालिममा टेक्निकल सर्भिस प्रा. लि. ले सहजीकरण गरेको थियो। खानिखोला गाउपालिका वडा नं. ३ का अध्यक्ष सागर तामाङ सभापतित्वमा भएको थियो !














