काठमाडौँ । राष्ट्रिय परिचयपत्रको प्रयोगमार्फत अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेपछि अधिकांश सेवाग्राहीले डिजिटल माध्यम रोज्न थालेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार हाल दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणालीमार्फत आवेदन दिएका छन्। यसले सेवा लिन सहज र छिटो भएको देखिएको छ।
उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जनाले अनलाइनबाट नाम दर्ता गरेका छन् भने पाँच जना व्यक्तिले कार्यालयमै उपस्थित भएर दर्ता गराएका छन्। कुल ४४० जनाको नाम मतदाता नामावलीमा समावेश गरिएको छ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहलाई पनि आवश्यक समन्वयका लागि पत्राचार गरिएको कार्यालयले जनाएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअनुसार जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी जम्मा ७१ हजार ७३९ मतदाता रहेका थिए।










