काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना ले सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता पहिचान गर्न नागरिक सचेत हुनुपर्ने बताएका छन्।
लिखु गाउँपालिका–६ को छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा उनले हालै सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने भनिएको समाचार पूर्ण रूपमा भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारे।
उनका अनुसार यस्ता गलत सूचनाले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास गर्छन् र नियतपूर्वक फैलाइएको हुनसक्ने आशंका पनि रहेको छ। उनले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरे।
मन्त्री तिमिल्सिनाले सरकार नागरिकको करबाट संकलित स्रोतसाधनको सदुपयोगमा प्रतिबद्ध रहेको उल्लेख गर्दै दुरुपयोग भएमा खबरदारी गर्न नागरिकलाई आह्वान गरे। साथै, सत्यमा आधारित प्रश्न उठाउनु लोकतान्त्रिक जिम्मेवारी भएको पनि उनले बताए।
बालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट पारे। कुनै पनि विषयमा प्रश्न उठेपछि तत्काल छानबिन र आवश्यक कारबाही अघि बढाइने उनले बताए।
उनले सरकारको मुख्य प्राथमिकता नागरिकको जीवनस्तर सुधार र समग्र विकास रहेको उल्लेख गर्दै अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको बताए। “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो,” उनले भने।
मन्त्री तिमिल्सिनाले विकास प्रक्रिया क्रमिक हुने भएकाले तत्काल चमत्कारको अपेक्षा नगर्न आग्रह गरे। सरकारले गाउँगाउँमा पुगेर नागरिकको प्रत्यक्ष आवाज सुन्ने र त्यसैका आधारमा नीति तथा कार्यक्रम बनाउने योजना अघि सारेको पनि उनले जानकारी दिए।
कार्यक्रममा उनले जिल्लाको विकास र स्थानीय आवश्यकताबारे आफू जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा ती आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, विगत २० वर्षमा पूरा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताए।










