२०औँ लोकतन्त्र दिवस मनाइँदै, जनआन्दोलनको ऐतिहासिक उपलब्धिको स्मरण

काठमाडौँ । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जनआन्दोलन २०६२/६३ को सफलतापछि प्राप्त लोकतान्त्रिक परिवर्तनको स्मरणमा हरेक वर्ष वैशाख ११ गते यो दिवस मनाउने गरिन्छ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।

विसं २०५९ असोजमा संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। त्यसपछि राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउने क्रम चलेको थियो।

विसं २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि सात दल र तत्कालीन माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। सो समझदारीपछि आन्दोलनले नयाँ गति लिएको थियो।

२०६२ फागुनदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलन चैतसम्म आइपुग्दा देशव्यापी बनेको थियो। नयाँ वर्ष २०६३ सुरु भएसँगै लाखौँ नागरिक सडकमा उत्रिएपछि चक्रपथ क्षेत्र मानवसागरले भरिएको थियो।

अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत दलहरूको मागअनुसार संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भएका थिए। यही दिनलाई लोकतन्त्र दिवसका रूपमा स्मरण गरिन्छ, जसलाई गणतन्त्रको जगका रूपमा समेत लिइन्छ।

त्यसपछि २०६३ जेठ ४ गतेको संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गरेको थियो। २०६४ मा पहिलो संविधानसभा निर्वाचन, २०६५ जेठ १५ मा राजसंस्थाको अन्त्य र २०७२ असोज ३ मा संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो।

हाल संघ, प्रदेश र स्थानीय तहमार्फत शासन सञ्चालन भइरहेको छ। यही ऐतिहासिक परिवर्तनको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ