काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगमा अवस्थित खानीखोला गाउँपालिका प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक विविधताको अनुपम संगमका रूपमा परिचित बन्दै गएको छ। १३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका समुद्री सतहबाट ३४० मिटरदेखि ३,०१८ मिटर उचाइसम्म फैलिएको छ। चारैतिर खोला र महाभारत पर्वत श्रृङ्खलाले घेरिएको यस क्षेत्रलाई विगतमा ‘काभ्रेको कर्णाली’ समेत भनिने गरिन्थ्यो।
दुर्गम भूगोल, कठिन जीवनशैली र सीमित पूर्वाधारका कारण लामो समयसम्म पछाडि परेको खानीखोला अहिले भने विकासको नयाँ चरणमा प्रवेश गरिरहेको छ। यसको प्रमुख आधार बनेको छ| जनमुक्ति मार्ग, जसले यहाँका करिब १२ हजार बासिन्दामा नयाँ आशा जगाएको छ।
खानीखोला गाउँपालिका जडिबुटी, वन सम्पदा र जलस्रोतले भरिपूर्ण छ। यहाँका पहाडी तथा लेकाली क्षेत्रमा विभिन्न प्रकारका जडिबुटी पाइन्छन् भने स्वच्छ पानीका मूलहरूले स्थानीय जीवनलाई टेवा पुर्याएका छन्। गाउँपालिकाको बीचबाट बग्ने खानीखोला नदीले सिँचाइ, पानीघट्ट सञ्चालन र वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बेँसीदेखि लेकसम्म फैलिएको भूभागमा कृषि र वन विकासको ठूलो सम्भावना रहेको छ। बेँसी क्षेत्रमा उर्वर जमिन, नदी किनारमा खयर खेती र लेकाली क्षेत्रमा उत्तिस, सल्ला जस्ता वनस्पतिको व्यावसायिक उत्पादनले आन्तरिक आय बढाउने सम्भावना देखिएको छ। साथै थुम्की र सिरुटार क्षेत्रमा चुनढुङ्गाको सम्भावनाले औद्योगिक विकासको संकेत दिएको छ।
तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, नेवार, भुजेल तथा दलित समुदायको सहअस्तित्व रहेको छ। पहरी र माझी समुदायका बस्तीहरूले लोपोन्मुख संस्कृतिको संरक्षण गरिरहेका छन्। धार्मिक रूपमा पनि यहाँ बौद्ध, हिन्दु र इसाई धर्मावलम्बीहरूबीच उच्च सहिष्णुता र सामाजिक सद्भाव देखिन्छ।
यहाँको मुख्य पेशा कृषि नै हो। दूधजन्य पदार्थ बाहिरी बजारसम्म निर्यात हुने गरेका छन्। पछिल्लो समय कफी खेतीप्रति आकर्षण बढ्दै गएको छ भने अलैची, अदुवा र कुच्चो जस्ता नगदे बालीहरूले आम्दानी बढाइरहेका छन्। धान, मकै, कोदो, फापर, गहुँ लगायत अन्नबालीसँगै आँप, केरा, लिची र कटहर जस्ता फलफूल उत्पादनले खाद्य आत्मनिर्भरता मजबुत बनाउँदै लगेको छ।
खानीखोलामा धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रशस्त सम्भावना रहेको छ। पाँच पाण्डव भीमसेनथान, महादेव मन्दिर, गुम्बाहरू, पार्कहरू र ऐतिहासिक स्थलहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सक्छन्। यसका साथै विभिन्न लेक, त्रिवेणी क्षेत्र र सुरुङहरू भविष्यमा पर्यटक आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ।
धार्ने, दयागाउँ, देउराली, बाँसपुर, श्रीखम्बा, रातमाटे, माझीटार, भ्याकुरे, महाङकाल, धाप्ले, खजुली, सिरुटार, जगथली लगायतका दर्जनौं टोल–बस्तीहरू गाउँपालिकाको सामाजिक र आर्थिक संरचनाका आधार हुन्। सडक सञ्जाल विस्तारसँगै यी बस्तीहरू क्रमशः मुख्य प्रवाहमा जोडिँदै गएका छन्, जसले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ।
खोपासी–तालढुङ्गा हुँदै विभिन्न बस्ती जोड्ने सडक सञ्जाल, साथै हेटौंडा–झुरझुरे–तालढुङ्गा सडक निर्माणले गाउँपालिकाको पहुँचमा ठूलो परिवर्तन ल्याएको छ। जनमुक्ति मार्गले किसानलाई बजार, विद्यार्थीलाई शिक्षा, बिरामीलाई स्वास्थ्य सेवा र उद्यमीलाई अवसरसँग जोड्ने महत्वपूर्ण पुलको काम गरेको छ।
हाल गाउँपालिकामा विद्युत् सेवा विस्तार भई अधिकांश घरधुरीमा पुगेको छ भने विद्यालय र वडा कार्यालयहरूमा इन्टरनेट सेवा विस्तार भइरहेको छ। उद्योग स्थापनाका प्रयासहरू तीव्र हुँदै गएका छन् र लगानी भित्र्याउने पहलहरू जारी छन्।
जनमुक्ति मार्गले खानीखोलामा केवल सडक सुविधा मात्र दिएको छैन, यसले विकास, समृद्धि र आत्मनिर्भरताको नयाँ आधार तयार गरेको छ। विगतमा कठिनाइसँग जुध्दै आएका यहाँका बासिन्दाहरू अहिले अवसरको बाटोमा अघि बढिरहेका छन्। यस परिवर्तनका लागि योगदान पुर्याउने महान सहिदहरूप्रति सम्मान व्यक्त गर्दै, गाउँपालिका, राजनीतिक दल तथा प्रदेश र संघीय सरकारका निकायहरूको भूमिकालाई पनि स्थानीयहरूले प्रशंसा गरेका छन्।
खानीखोला गाउँपालिका अब सम्भावनाको केन्द्र बन्ने दिशामा दृढतापूर्वक अगाडि बढिरहेको छ।
रिपोर्ट: राजन अधिकारी (समाजसेवी)










