बर्खामा खानीखोलाले यातायात समस्या भोग्नुपर्ने निश्चित जस्तै : जनमुक्ति मार्गको ७ सय मिटर अधुरो, डाँडापारि फेरि संकटमा

काभ्रे । बागमती प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाइएको ‘जनमुक्ति मार्ग’ अन्तर्गत सडक कालोपत्रे भए पनि बाढीले बगाएको करिब ७ सय मिटर सडक पुनर्निर्माण नहुँदा काभ्रेको विकट मानिने खानीखोला गाउँपालिकामा फेरि बर्खामा यातायात अवरुद्ध हुने निश्चित जस्तै देखिएको छ ।

खानिखोला गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले समयमै निर्माण नभए यस वर्षको बर्खामा खानीखोला–बेथानचोक हुँदै पनौती जोड्ने सडक समेत प्रभावित हुने बताए ।
“सानो पानी पर्दा पनि डाइभर्सन बग्ने अवस्था छ,” उनले भने, “अब ठूलो वर्षा सुरु भएपछि यातायात पूर्ण रूपमा ठप्प हुने खतरा छ । जनमुक्ति मार्ग हाम्रो आवश्यकता हो, त्यसैले ढिलाइ नगरी निर्माण गर्नुपर्छ ।”
स्थानीयवासीले समेत जनमुक्ति मार्गलाई विकासको आशा माने पनि बीचमै सडक अधुरो हुँदा पुरानै सास्ती दोहोरिने डर व्यक्त गरेका छन् । उनीहरूका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आए शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । तर बाढीले बगाएको ७ सय मिटर सडक पुनर्निर्माणमा भइरहेको ढिलाइले डाँडापारिको विकास फेरि रोकिएको स्थानीयहरुको भनाइ छ ।

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट करिब ८० किलोमिटर टाढा रहेको खानीखोला गाउँपालिका धेरैले अझै पनि “काभ्रेको कर्णाली” भनेर चिन्ने गर्छन् । वर्षौँसम्म सडक, यातायात र पूर्वाधारको पहुँचबाट टाढा रहेको यस क्षेत्रमा जनमुक्ति मार्ग बनेपछि विकासको आशा पलाएको थियो । तर बीचको महत्वपूर्ण खण्ड अधुरो रहँदा स्थानीय निराश बनेका छन् ।

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट सुरु भएर रजबास हुँदै महाभारत गाउँपालिका, खानीखोलाको तालढुंगा पार गर्दै मकवानपुरको झुरझुरे जोड्ने जनमुक्ति मार्ग डाँडापारिका नागरिकको मुख्य जीवनरेखा हो । विशेषगरी मकवानपुरको झुरझुरेदेखि खानीखोलासम्मको सडक तत्काल निर्माण र स्तरोन्नति गर्नुपर्ने माग स्थानीयको छ ।

२०८१ साल असोज ११ र १२ गते आएको बागमती खोलाको बाढीले जनमुक्ति मार्गअन्तर्गत करिब ७ सय मिटर सडक बगाएको थियो । त्यसयता पुनर्निर्माण हुन नसक्दा सानो पानी पर्दा पनि बनाइएको डाइभर्सन बग्ने समस्या दोहोरिँदै आएको छ ।

हाल सडकको अधिकांश भाग कालोपत्रे भए पनि बीचको भत्किएको ७ सय मिटर खण्डका कारण जनमुक्ति मार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । वर्षायाम नजिकिँदै गर्दा फेरि सडक अवरुद्ध हुने त्रास स्थानीयमा बढेको छ ।


खानिखोला गाउँपालिकाका ंअध्यक्ष इन्द्रबहादुर थिङले जनमुक्ति मार्ग डाँडापारिका नागरिकका लागि विकाससँग प्रत्यक्ष जोडिएको आधार भएको बताए ।
“प्रदेश राजधानी नजिकै भए पनि खानीखोला अझै आधारभूत पूर्वाधारमा पछाडि छ,” उनले भने, “कालोपत्रे सडक बनेको सकारात्मक पक्ष हो, तर ७ सय मिटर सडक नबन्दा पूरा मार्ग नै उपयोगमा आउन सकेको छैन । तत्काल निर्माण आवश्यक छ, नत्र बर्खामा सम्पूर्ण खण्ड अवरुद्ध हुन्छ ।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ