काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउन दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्।
महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र नयाँ अवसरहरूको खोजीमा सक्रिय रहेको उल्लेख गरे।
ढकालले विगतमा चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिएको र धेरै क्षेत्रमा सफलता हासिल भएको उल्लेख गर्दै निजी क्षेत्र अझै आशावादी रहेको बताए।
उनले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको धारणा व्यक्त गरे।
झन्डै दुई तिहाइ समर्थनसहित बनेको सरकारलाई नीतिगत स्थायित्व र विकासमा केन्द्रित गर्नुपर्ने उनको सुझाव थियो। साथै, निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पारित रणनीतिमा सरकारको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गर्दै यसले उद्यमीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।
ढकालले आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्न, आवश्यक कानुनी संशोधन तथा खारेजी प्रक्रिया तीव्र बनाउन सरकारसँग आग्रह गरे। उनले निजी क्षेत्रलाई भौतिक मात्र नभई नीतिगत सुरक्षा आवश्यक रहेको पनि स्पष्ट पारे।
नेपालमा ठूलो आर्थिक अवसर रहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। देशभित्र पर्याप्त रोजगारी नहुँदा हरेक वर्ष ठूलो सङ्ख्यामा युवा विदेशिन बाध्य भइरहेको भन्दै उनले उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
ढकालले नेपालका युवाशक्ति र भारत–चीन जस्ता ठूला बजारको नजिकियतालाई अवसरका रूपमा लिनुपर्ने बताए। साथै, भन्साररहित पहुँचका कारण नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिने उनको भनाइ थियो।
उनले पछिल्लो समय मध्यपूर्वमा देखिएको संकटले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा प्रभाव पारेको उल्लेख गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
हाल कुल रोजगारीको करिब ८६ प्रतिशत निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै ढकालले अत्यधिक नियमनका कारण लगानी वातावरण प्रभावित भएको गुनासो गरे।
बङ्गलादेश, भियतनामलगायतका मुलुकले निजी क्षेत्रलाई प्रोत्साहन दिएर तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण दिँदै नेपालले पनि सोही मार्ग अपनाउनुपर्ने उनको सुझाव थियो।
ढकालले लगानी वृद्धि, प्रविधिको उपयोग, सदाचार प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्र विस्तारमार्फत आर्थिक सुधारलाई अघि बढाउनुपर्नेमा जोड दिए।
साथै, स्वदेशी पुँजी परिचालनका लागि लगानी कम्पनी स्थापना गर्ने महासङ्घको योजना कार्यान्वयनमा रहेको जानकारी दिँदै सरकार–निजी क्षेत्र सहकार्यबाट आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।










