काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधान संशोधन बहसपत्र निर्माण गर्ने विषयमा आफ्नो प्रस्ताव प्रतिनिधिसभामा दर्ज गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधन प्रतिगमनका लागि नभई अग्रगमनका लागि हुनुपर्नेमा जोड दिए ।
उनले भने, “संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ, न कि प्रतिगमनका लागि । जनताले पाएको अधिकारको कसीमा संशोधनको विषय अघि बढ्नुपर्छ । यो अक्षरहरूको संग्रह होइन, यो त रगत र पसिनाले लेखिएको राष्ट्रिय दस्ताबेज हो ।”
नेम्वाङले संविधानले आम नेपालीलाई भावनात्मक रूपमा बाँधेको उल्लेख गर्दै त्यो बन्धन अझ कसिलो बनाउने गरी संशोधन हुनुपर्ने बताए ।
उनले प्रत्येक प्रदेशका नागरिकले अपनत्व र गौरव महसुस गर्ने खालको संविधान आवश्यक रहेको धारणा राखे । “मधेसले आफ्नो पहिचान र सम्मान संविधानभित्रै भेट्न सकोस्, कर्णालीले काठमाडौंबाट टाढा भएको महसुस गर्नु नपरोस्,” उनले भने, “सुदूरपश्चिमले आफूलाई दूर होइन, काठमाडौंसँगै महसुस गर्न सकोस् ।”










