प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।

शेर्पाले आज बिहान १०ः १२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, । “निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ