हरिहर घिमिरे
काभ्रे -: पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा लगातार मौलिक सिर्जना प्रस्तुत गर्दै आएका गायक, सर्जक तथा संगीतकार किरण गौतम नयाँ गीत ‘बब्बाल भएको छ’ लिएर दर्शक–श्रोतामाझ आएका छन्।
आफ्नै शब्द, संगीत र गायनमार्फत लोकदोहोरीमा छुट्टै पहिचान बनाएका गौतमले यस गीतमा चर्चित गायिका रचना रिमालसँग स्वर मिलाएका छन्। मौलिकता , रमाइलोपन र आधुनिक लोकदोहोरी शैलीलाई समेटिएको गीतले युवा पुस्तालाई लक्षित गरेको देखिन्छ।



गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् भने रेकर्डिङ शङ्करा डिजिटलमा गरिएको हो। भिडियोतर्फ निरेन श्रेष्ठको निर्देशन, नितिन वाइबाको कोरियोग्राफी, कुमार सुनेल र सोनी बीसीको अभिनय तथा सुनील भण्डारीको छायाङ्कन रहेको छ। सम्पादन तथा रङ संयोजन राजकुमार मगरले गरेका हुन्।
लोकदोहोरी संगीतमा निरन्तर सक्रिय रहेका किरण गौतमले यसअघि पनि विभिन्न आफ्नै गीतमार्फत श्रोताको मन जित्दै आएका छन्। आफ्नै सिर्जनालाई प्राथमिकता दिने उनी नयाँ पुस्ताका सम्भावनाशील सर्जकका रूपमा परिचित छन्। ‘बब्बाल भएको छ’ पनि सोही यात्राको अर्को महत्त्वपूर्ण प्रस्तुति बनेको छ।
गीत Kumar Sunel Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।








