काठमाडौं,थिएटरमा नाटक ‘द एज अफ डार्कनेस’मञ्चन भएको छ ।
धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरणका रूपमा प्रस्तुत गरिएको यो नाटकले महाभारतपछिको समाजमा जन्मिएको हिंसा, सत्ता संघर्ष, प्रतिशोध, नैतिक संकट र मानवीय शून्यतालाई मञ्चमा उतारेको हो ।



राजेन्द्र सलभको नेपाली रूपान्तरण र सुदीप खतिवडाको निर्देशन रहेको नाटकले हजारौँ वर्ष पुरानो महाभारतको कथालाई आजको समाजसँग जोड्ने प्रयास गरेको छ। युद्ध सकिए पनि त्यसले छोडेको घाउ, बदलाको भावना र सत्ताको खेल कसरी निरन्तर रहन्छ भन्ने प्रश्न नाटकले देखाउँछ।
करिब ११ वर्षअघि यही नाटकबाट अभिनय यात्रा सुरु गरेका खतिवडा अहिले त्यसैलाई निर्देशन गर्दै मञ्चमा फर्किएका हुन्। कलाकारका रूपमा आफूले खेलेको कथालाई अहिले निर्देशकका रूपमा नयाँ दृष्टिकोणसहित प्रस्तुत गरेको उनी बताउँछन्।
नाटकले युद्धमा विजेता र पराजित दुवै पक्षले भोग्ने पीडा, जिम्मेवारी र नैतिक द्वन्द्वलाई केन्द्रमा राखेको छ। यस अर्थमा ‘द एज अफ डार्कनेस’ केवल महाभारतको कथा होइन, आजको समाजमा दोहोरिइरहेका युद्ध, हिंसा, सत्ता र प्रतिशोधको ऐना दर्शाएको छ । 
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र बिश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्रि र सुजल कोइरालाले अभिनय गरेका छन्।
सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामाको संगीतले नाटकको वातावरणलाई थप प्रभावशाली बनाएको छ । ‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।







