• तपाईंको परिचय दिनुहोस्?
मेरो नाम अम्बिका शर्मा हो। म भारत राष्ट्रका २९ राज्यहरूमध्ये सुन्दर पहाडी राज्य सिक्किमको ६ जिल्लामध्ये एक, नाम्ची जिल्लाको तिमी–नामफिङ क्षेत्रअन्तर्गत पर्ने छलमथाङ गाउँकी साहित्यप्रेमी साधिका हुँ। हालैदेखि लेखन, वाचन र अभिव्यक्तिका माध्यमबाट जीवनका अनुभूतिहरू बाँड्ने प्रयास गरिरहेकी छु।
• तपाईं अहिले केमा व्यस्त हुनुहुन्छ?
अहिले म नयाँ साहित्यिक कृति पढ्न, विभिन्न साहित्यिक कार्यक्रममा सहभागिता जनाउन, कवितावाचन गर्न र शैक्षिक क्षेत्रका काममा व्यस्त छु।
• तपाईंलाई साहित्यतर्फ प्रेरणा दिने मुख्य कुरा के हो?
जीवनका विविध रंगहरू—दुःख, सुख, संघर्ष, माया र आशाले मलाई साहित्य र विशेषतः कविता सिर्जनातर्फ प्रेरित गर्छन्। मानवीय भावना र सामाजिक विसंगतिहरू पनि मेरो प्रेरणाका स्रोत हुन्। मलाई साहित्यका विभिन्न विधामध्ये कविता विधा सबैभन्दा मनपर्छ।
• तपाईंको पहिलो साहित्य गायन अनुभव कस्तो थियो?
मेरो पहिलो साहित्य गायन अनुभव निकै रोमाञ्चक थियो। त्यो क्षण डर, उत्साह र आत्मविश्वासको मिश्रण थियो। दर्शकको तालीले मलाई अझ अगाडि बढ्ने प्रेरणा दियो। हालै सामाजिक सञ्जालमार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन को केही अंश वाचन गर्ने प्रयास गरिरहेकी छु।
•कुन साहित्यिक कृति तपाईंलाई सबैभन्दा बढी प्रभाव पार्छ?
लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, परशु प्रधानको नयाँ जीवन र माधवप्रसाद घिमिरेको गौरी शोककाव्य मलाई गहिरो प्रभाव पार्ने कृतिहरू हुन्। यी कृतिहरूले साहित्यको शक्ति र मानवीय संवेदनाको गहिराइ देखाउँछन्।
• साहित्यको गायन गर्दा तपाईंको प्रक्रिया कस्तो हुन्छ?
साहित्य गायन मेरो लागि ध्यान जस्तै हो। यो मेरो प्रेरणाको स्रोत हो। साँझको समय, शान्त वातावरण र मनभित्रको भावनात्मक लहर मेरो मुख्य आधार हुन्।
• तपाईंले प्रयोग गर्ने प्रमुख विषयवस्तुहरू कुन–कुन हुन्?
म माया, विछोड, सामाजिक यथार्थ, महिला चेतना, वर्गसंघर्ष र जीवन दर्शनलाई मुख्य विषयवस्तु बनाउने गर्छु।
• नेपाली साहित्यको वर्तमान अवस्था तपाईंलाई कस्तो लाग्छ?
भन्छन्, साहित्य समाजको ऐना हो। आज नेपाली साहित्य समृद्धिको बाटोमा अघि बढिरहेको छ। नयाँ सोच, नयाँ शैली र नयाँ स्वरूपले नेपाली साहित्यको दायरा फराकिलो बनाइरहेको छ। यदि अध्ययन–अनुसन्धानको क्षेत्र अझै गहिराइमा पु-याउन सक्यौं भने यसले नेपाली साहित्यमा ठूलो टेवा पुर्याउनेछ। साहित्यमा एउटा सिङ्गो गाउँ, समाज मात्र होइन, सिङ्गो राष्ट्र समेटिएको हुन्छ।
• तपाईंको विचारमा साहित्य समाज परिवर्तनको माध्यम कसरी बन्न सक्छ?
साहित्य मानिसको चेतनामा प्रवेश गर्ने माध्यम हो। यसले प्रश्न उठाउँछ, सोच बदल्छ र मुटु छोएर परिवर्तनको बीउ रोप्छ।
• डिजिटल युगमा साहित्यको भविष्य कस्तो देख्नुहुन्छ?
डिजिटल युगले साहित्यलाई विश्वव्यापी बनाएको छ। अब साहित्यिक सामग्री एक क्लिकमै उपलब्ध छन्, तर गहिरो पाठकीयता भने घट्दै गएको देखिन्छ। यदि हामीले सन्देशसँगै संवेदनालाई पनि डिजिटल रूपमा जीवित राख्न सक्यौं भने भविष्य उज्यालो हुनेछ।
• तपाईंको साहित्य गायनमा जीवनका कुन अनुभवहरूले प्रभाव पारेका छन्?
मेरो बाल्यकालको संघर्ष, सानैदेखि छन्दकविता वाचन गर्ने अनुभव, सामाजिक परिवेश, मान्छेको मनोविज्ञान बुझ्ने क्रम र यात्रामा भेटिएका कथाहरूले मेरो साहित्य गायनमा गहिरो प्रभाव पारेका छन्।
• नयाँ साहित्यकारहरूलाई तपाईंको सल्लाह के हुने थियो?
लेख्न नडराउनुस्। आफ्नै आवाज पत्ता लगाउनुस्, अरूको नक्कल नगर्नुहोस्। निरन्तर लेखिरहनुहोस्—जति लेख्नुभयो, उति गहिराइमा पुग्न सक्नुहुन्छ। अभ्यासले आत्मबल बढाउँछ।
• तपाईं अब के गर्दै हुनुहुन्छ?
अहिले म नयाँ कविता लेखन र साहित्य गायनमा व्यस्त छु। साथै, युवाहरूलाई साहित्यतर्फ प्रेरित गर्ने अभियानमा लागिरहेकी छु।
• साहित्य लेखनमा लाग्न चाहने युवाहरूलाई के भन्नुहुन्छ?
तपाईंको अनुभूति नै तपाईंको शक्ति हो। लेख्नुस्, पढ्नुस्, र आफूभित्रको संसार खोज्नुस्—साहित्य तपाईंलाई आत्माको ऐना देखाउनेछ। खोज्ने प्रयास कहिल्यै नछोड्नुस्, विचारमा परिवर्तन ल्याउनुस्।
• अन्त्यमा के भन्नुहुन्छ?
साहित्य आत्माको स्वर हो। यसलाई जगेर्ना गरौं, साझा गरौं र सजीव राखौं। सजिलो समय नआउला, तर लेख्ने साहस कहिल्यै छोड्न हुन्न। सबैलाई आग्रह—अध्ययनको दायरा बढाऔं, किताब पढौं, र आफैलाई आत्मिक रूपमा बुझ्ने प्रयास गरौं।










