धर्म उत्कृष्टताको मार्ग हो । धर्मलाइ ब्याख्या गर्न हामी जस्तो बबुरोले सकिने शब्द होइन परन्तु साधारण अर्थमा बुझ्नुपर्दा धर्म भनेको कुनैपनि व्यक्त्ति वा वस्तुमा रहेको गुण वा स्वभावलाई बुझाँउछ । धर्म एकप्रकारको व्यक्त्तिले अनुसरण गर्ने धारणा हो देखासिखी होइन । धर्म विश्वास र पालना हो । लाचारीपन होइन । नियम र आचरणमा बाँधिएर अनुशासनको पालना गर्नु आफ्नो अस्थित्व र पहिचानलाई स्थायित्व राख्नुलाई पनि धर्म भनिन्छ । धर्मले नियम र आचरणको परिधिमा रहेर वाच्न सिकाउँछ । धर्मको मूल ध्येय नै कर्म गर तर फलको आशा नगर भन्ने हुन्छ । आशा रहित कर्म गर्नु र त्यसबाट आत्मा सन्तुष्ट हुनु पनि धर्म हो । लोकको हित गर्नु, प्राणीमात्राको कल्याण गर्न, कुनैपनि प्राणले पृथ्वीमा स्वतन्त्र बाच्न पाउने अधिकारलाई संरक्षण गर्दै सामाजिक रूपान्तरण गर्नु, संस्कृति परम्परालाई जगेर्ना गर्नु पनि धर्म हो । संसारमा प्रचलित विविध धर्म सम्प्रदायहरूमा हिंसा नगर्नु , चोरी नगर्नु, मानव मानव वीच भेदभाव नगर्नु , झुट्टो नवोल्नु परस्त्री गमन नगर्नु जस्ता साझा अवधारणहरू रहेका छन । धर्म पवित्र आस्था हो । त्यसैले धर्मले शान्ति र अहिंसाको पदबाट मोक्ष मार्गमा हिडन प्रेरित गर्दछ । आस्था जहाँ लाग्छ अनि उक्त धर्मले आत्मा कल्याण गर्छ र मैले धर्म मान्दा मेरो मोक्ष प्राप्त हुन्छ भनेर कुनैपनि प्रचलित धर्मलाई अंगाल्नु व्यक्तिको स्वतन्त्रता हो ।
नीतिमा भनिएको छ धर्म पशुमा पनि हुन्छ तर विवेकपूर्ण धर्म हुदैन ।
आहार निद्रा भय मैथुनं च समानमेतत्पशुभिर्नराणाम् ।
धर्मोहि तेषामधिको विशेषः धर्मेण हीना पशुभिः समानाः ।।
मानिस र पशुमा आहारा, निन्द्रा, भय र मैथुन यी चार गुणहरु मिल्छन । तर मानिसमा विवेकपूर्ण धर्म हुने हुदाँ मानिस पशु भन्दा महान छ । यदि मानिसमा विवेकपूर्ण धर्म रहेन भने पशु र मानिसमा कुनै अन्तर छैन । तसर्थ मानव हुनुको पहिचान नै धर्म हो । धर्मको कारणबाटै मानवको विकास र विस्तार भएको हो । धर्म व्यक्त्तिमा हुने गुण वा स्वभाव हो । आगोको गुण तातो हुनु, पानीको गुण चिसो हुनु, पशुको गुण घाँस खानु मानिसको गुण हरकार्यमा विवेकी बन्नु हो । मानिसले गर्ने विवेकशील कर्म मानव धर्म हो भने पशुले गर्ने पशुजन्य कर्म पशु धर्म हो । नारीले देखाउने सहनशीलतालाई नारी धर्म र पुरूषले प्रस्तुत गर्ने पुरूषार्थलाई पुरूष धर्म भनिन्छ ।
सत्येनोत्पद्यते धर्मो दयादानेन वर्धते ।
क्षमायां स्थाप्यते धर्मो क्रोधालोभा द्विनिश्यति ।।
धर्मको उद्भव सत्यबाट भएको हो सत्य भनेको परमात्मा हो जस्लाइ आत्माको मालिक भनेर जानिन्छ । दया र दानबाट धर्म वृद्धि हुन्छ । क्षमा र करूणाबाट धर्म स्थीर हुन्छ भने क्रोध र लोभबाट धर्म विनाश हुन्छ । त्यसैले धार्मिक व्यक्तिमा दया र दान दुवै अनिवार्य हुनुपर्दछ यदि दया र दान छैन भने उ धार्मिक होइन । त्यस्तै क्षमा करुणा पनि हुनुपर्दछ यदि क्षमा करुणा छैन भने उ धार्मिक होइन । प्राणीमा दया करुणा छैन आफुलाइ दुख्दा अरुलाई पनि दुख्छ भन्ने जान्दैन भने धार्मिक कहलाउदैन । रीस राग वैमनस्यता अहंकार गर्छ भनेपनि उ धार्मिक होइन । उस्मा बाँकी बसेको धर्म पनि क्षय हुदै जान्छ ।
धर्मस्य फलमिच्छन्ति धर्म नेच्छन्ति मानवाः
फलं पापस्य नेच्छन्ति पापं कुर्वन्ति द्विनश्यति
मानिस यत्ति स्वार्थी छ धर्म गर्ने वित्तिकै फल मिल्छ की मिल्दैन भन्ने अपेक्षा गर्छ तर धर्मको आचरणमा रहनुपर्छ भन्नेतिर ध्यान दिदैन । पापको फल भोग्न उ तयार हुदैन परन्तु गर्वका साथ पापकै आचरण गरिरहेको हुन्छ । भनाइको तात्पर्य धर्म आचरण हो अनुसरण हो । नीति नियम र कानुन हो भने यसको उलंघन पाप हो । वृहद् नेपाली शब्दकोषमा धर्म शब्दलाई यसरी परिभाषित गरिएको छ
ब्यक्त्ति वा वस्तुमा सधै रहिरहने गुण वा मूल वृत्ति प्रकृति स्वभाव, असल आचरण सदाचार नियम, पुण्य सत्कर्म नै धर्म हो । धर्म नैतिक नियम हो यसको आधारमा मानव समाज सञ्चालन हुन्छ । असल आचरण हुनु, सदाचारमा रहनु, नीति नियमको पालना गर्नु धर्म हो । आध्यात्मिक प्रवक्ताहरू धर्मलाइ समाजमा यसरी बुझाउनुहुन्छ धर् भन्नाले पक्रिनु म भन्नाले आत्मा अर्थात आत्माले परमात्माको खोज गर्नु, आत्मा कल्याणको मार्ग अपनाउनु नै धर्म हो । धर्मको एकमात्र उदेश्य मानव कल्याण गर्नु, सामाजिक संस्कार संस्कृतिको जगेर्ना गर्नु हो । तत्कालिन समाजका हाम्रा अग्रज ऋषि मूनिहरूको हजारौ वर्षको अभ्यासबाट बनेको नैतिक आचरण वा संस्कृतिलाई धर्म भनिन्छ । वेदादि शास्त्र एवं धर्म सिद्धान्तले गर्नु भनेको कार्य गर्नु धर्म हो भने वेदादि शास्त्र एवं धर्म सिद्धान्तले नगर्नु भनेको कार्य गर्नु अधर्म हो । तसर्थ धर्म के हो ? अधर्म के हो ? भन्ने बुझ्न वेदादि शास्त्र पढ्ने र सुन्ने गर्नुपर्दछ ।
राजनिति
नीतिहरूमा असल नीति जसद्वारा समाज सुव्यवस्थित गर्ने, राज्यका अङ्गहरुलाई सञ्चालन गर्न ब्यवस्थित गर्न अपनाइने नीति नै राजनिति हो । राजनीति स्वार्थपूर्ति गर्ने पेशा नभएर एकप्रकारको उच्चस्तरीय मर्यादित समाज सेवा हो । सामाजिक रूपान्तरण र राष्ट्र समुन्नतिको भाव बोकेर अपाईने नीति नै राजनीति हो । मानव विकाससँगै जब मानिसहरु आपसमा मिलेर बस्न सुरु गरे तबदेखि नै सङ्गठन र त्यस्को सीमाको नियन्त्रणमा समस्या उत्पन्न भयो उही समय देखि नै समस्याहरुलाई समाधान र ब्यवस्थित गर्न राजनीतिक विद्वानहरुले अपनाएको नीति र सिद्धान्तको परिष्कृत रूप नै राजनिति हो । राजनीतिक शास्त्री अरस्तुले भनेका छन राज्यभित्र मनुष्यको इच्छा पुरा हुनसक्छ राज्य बाहिर बसेर कुनैपनि ब्यक्ति आत्मानिर्भर र आत्मा सन्तुष्ट हुन सक्दैन । भनाइको तात्पर्य आफनो इच्छा पुरागर्न राज्यमा बसोबास गरेका आमजनतालाई राज्यले संरक्षण र सम्बद्र्धन गर्नुक साथै उनिहरुको आधारभूत अधिकारको सुनिश्चितता राजनैतिक सिद्धान्तले मात्र गर्न सक्दछ । जर्मनी विद्वानले पनि राजनीतिलाइ एक कलाको रुपमा चित्रण गरेका छन । राजनीति राज्यको वास्तविक क्रियाकलापसँग सम्बन्धित छ । तसर्थ राजनीति राज्यको वास्तविक क्रियाकलापसँग सम्बन्धित नीति हो जसको पालनाले राज्य समृद्ध बन्दछ ।
बृहद् नेपाली शब्दकोषमा राजनीतिलाई यसरी परिभाषित गरेको छ प्रजाको शान्ति सुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने राज्यको शासन व्यवस्थाका प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य सामाजिक सिद्धान्त वा नीति राजनीति हो भनिएको छ । यसर्थ राजनीति जनताको हक अधिकार सुनिश्चित गर्ने दस्तावेज हो । समाज र राष्ट्रलाई सुब्यवस्थित गरी शान्ति अमन चयन प्रदान गरी विकास तथा समृद्धिलाई एकसाथ अघि बढाउन राजनीतिको अहम भूमिका रहन्छ । राजनीति वास्तवमा निरन्तर परिवर्तनशील र सर्वव्यापी प्रक्रिया हो । जसको मूर्त रुप हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने राजनीति सिद्धान्तमा चल्न पाएको छैन । दलीय विचार र राजनीतिमा फरकपन भएका कारण राजनीतिक गति अस्थिर बन्दै गएको छ । शिक्षित युवावर्ग दिनानुदिन विदेशिनु , आन्तरिक तथा वाह्य ऋण बढनुमा देशको राजनैतिक गतिरोध अन्त्य नहुनु, स्थायी सरकार नहुनु सरकार फेरबदल भइरहनु, भष्ट्रचार बढनु राजनैतिक दलमा इमान धर्म नहुनु मुख्य कारण हो । तसर्थ राजनीतिलाइ सबल ढङ्गबाट अगाडी बढाउन धर्मको राजनीति हैन राजनीतिमा धर्मको अनुबन्ध भयो भने मात्र सिद्धान्त बमोजिम राजनीतिक विचार अगाडी बढाउन सकिन्छ ।
धर्म र राजनीति वीचको सम्बन्ध
धर्म उत्कृष्टताको मार्ग हो । विचार र अनुशासनको समृद्ध रूप हो । त्यसैगरी राजनीति पनि धर्म,सामाजिक प्रथा र परम्पराबाटै जन्मिएको सिद्धान्त हो । धर्मले मानिसलाई नियममा राखेर असल चरित्रवान बनाँउछ । कुकर्म नगर जीवन सुधार मानव भएर बाँच भनेर धर्मले निर्देश गर्दछ । राजनीतिले पनि कुनै व्यक्तिका हक अधिकारको सुनिश्चितता गरेर समाजलाई सुसंगठित गर्दै शान्ति अमन चयन प्रदान गर्दछ । धर्म नैतिक नीति हो । राजनीति सामाजिक कुरिति कु–संस्कारलाई मेट्टाउदै सु–सभ्यता प्रदान गर्ने स्तम्भ हो । वास्तवमा धर्म र राजनीतिकवीच अन्र्तरसम्बन्ध छ । किनकी धर्मबाटै राजनितिको जन्म भएको हो । धर्म राजनितिको परमपिता हो । धर्मले व्यक्तिलाई चरित्रवान बनाउछ भने खराब चरित्रहरुको सरसफाइ गर्दछ । राजनीतिले व्यक्त्तिका आवश्यकताहरुलाई पुरा गर्दछ र व्यक्त्तिलाइ समाजको सेवक बनाउँछ । तसर्थ धर्ममा राजनीति हैन राजनीतिमा धर्म भयो भने राजनीति सफल र सुदृढ बन्दछ समाज सुसंस्कृत हुन्छ । समाज समाजको उपज राज्य हो । समाज सुदृढ हुनु नै राज्य समृद्ध हुनु हो । सुसंस्कृत र सभ्य समाजको कल्पना व्यक्त्ति व्यक्त्तिको अनुशासन र असल आचरणबाट मात्र सम्भव छ । हो यसका लागि नै धर्म चाहिन्छ धर्मले नै व्यक्त्तिलाइ सत्चरित्रवान वनाँउछ । त्यसैले राजनैतिक सिद्धान्त पुरा गर्न राजनीति र राजनैतिक कर्मीमा पदिय धर्म हुन आवश्यक छ । यदि राजनीतिभित्र धर्म निहित भयो भने यस्तो राजनीतिले नागरिकलाइ देशको असल सिपाही बन्न प्रेरित गर्दछ । उदाहरणका लागि नवग्रह मण्डलमा शनि सुर्यको पुत्र हो अनि सुर्यकै शत्रु पनि हो । भनाइको तात्पर्य राजनितिको पिता भनौ स्रोत जे भनेपनि धर्मशास्त्र नै हो तर धर्मलाइ राजनीतिकरण गर्दा धर्म नाशको बाटोमा लाग्छ । त्यसैले पिता अर्थात धर्मलाइ राजनितिले उच्च सम्मान गर्नुपर्छ । पितालाइ (धर्म) पुत्रले(राजनिति) चलाउने हैन पिताले पुत्रलाई निर्देश गर्ने हो । अनिमात्र धर्म र राजनितिको अन्र्तसम्बन्ध स्थापित हुन्छ । देशप्रेमको भावाना देशको रक्षा गर्ने प्रेरणा धर्ममा निहित हुन्छ । राजनीतिलाइ सफा बाटो देखाउने पथप्रर्दशक नै धर्म हो । जब धर्ममा तछाड मछाड गुट उपगुटको गन्ध आउन थाल्छ त्यहाँ राजनैतिक फोहारी गन्ध हावी छ भन्ने बुझ्नुपर्दछ । वास्तविक राजनैतिक सिद्धान्तमा र धर्मको नीतिमा चल्ने मानिसले राजनीतिलाइ पनि उचाइमा पुर्याउछ भने धर्मलाइ पनि अगाडी बढाँउछ ।
धर्म पेशा हैन कुनै लाभको पद हैन धर्म आस्था हो । मनलाइ आनन्द प्रदान गर्ने र ईश्वरीय शक्त्तिको अनुभूति प्रदान गर्ने क्षमता धर्ममा मात्र छ । त्यसैगरी राजनीति पनि कुनै पेशा व्यवसाय हैन यो त विशुद्ध समाजसेवा हो । यसको लगानी वौद्धिक्ता हो भने प्रतिफल ख्याति हो । दलदलमा फसेको राजनीतिक छिद्रबाट धर्मको सानो प्रकाश छिर्यो भने त्यो राजनीति सफल बन्दछ र सेवामुखी बन्दछ परन्तु मजबुत धर्ममा सानो छिद्रबाट गन्ध भरिएको राजनिति पस्यो भने धर्मलाइ नै ओझेल पार्दछ र गन्धमा फसाँउनुका साथै धर्मलाइ नै वदनाम बनाउँने, बफादार इमान्दार गुण भएका चरित्रलाइ पाखा लगाउन,े आफ्नो झुण्डलाइ मात्र प्राथमिक सूचिमा राख्ने जस्ता गन्ध खेलहरू सुरु गराँउछ । समग्रमा विश्लेषण गर्दा धर्म र राजनीति समाज निर्माणका आधार स्तम्भ हुन । धर्मले अहिंसा परमो धर्म भन्ने नीतिलाइ सर्वोपरि ठान्दछ । यहि धर्मको नीतिलाइ आधार मानेर राजनितिले पनि समाजमा, राष्ट्रमा स्थायी शान्तिको परिकल्पणा गर्दछ । धर्म सुनीति हो धर्म धारण गरेको ब्यक्त्ति भिजेको कपास जस्तो हुनुपर्छ अनिमात्र उ सच्च धार्मिक हो । धर्ममा राजनिति गर्छु भनेर धर्म संगठनमा पसेको छ भने त्यो कंस हो उ बाट धर्मको बिकास हुदैन सो कुरा धर्मनीतिमा स्प्रष्ट छ । त्यस्तै राजनीति पनि असल नीति हा े। असल राजनितिकर्मीले देश र जनताको माया बोकेर हिड्को हुन्छ । जो राजनीतिकर्मीमा राजनैतिक धर्म हुन्छ उसले राजनीतिलाइ लाभको पद नसम्झेर सेवाको भावमा राजनिति गर्छ । निस्वार्थ सेवालाइ धर्म सिद्धान्तले परम धर्म मानेको छ । यसर्थ असल नीतिमा चल्नलाइ पनि धर्म नै चाहिन्छ । धर्मले धर्मले द्धन्द झगडा वैमनस्यता कदापी हुनुहुदैन प्राणीलाइ हिंसा गर्नु हुदैन भन्ने सन्देश प्रवाह गर्छ । यदि धर्ममा द्धन्द, झगडा र वैमनस्यता हुनु भनेको गन्धयुक्त राजनीतिक खेल हो । राजनीतिमा धर्म हुनु राम्रा होे तर धर्ममा हुने राजनीतिले धर्मलाइ नै तहस नहस गर्दछ । तसर्थ नीतिमा आधरित राजनीतिलाइ अंगालौ देश र माटोको रक्षा गरौ । धर्म संस्कृति र परम्पराको जगेर्ना गरौ धर्ममा असल नीति र स्वधर्मिय सभ्यताको विकास गरौ ।










