काभ्रे – बैशानचोक गाउँपालिकाले यस वर्ष कोसेली घर उद्घाटन कार्यक्रमसँगै तीज विशेष कार्यक्रम समेत आयोजना गर्ने भएको छ। आगामी २०८२ भाद्र ८ गते आइतबार बिहान १० बजे गाउँपालिकाको कार्यालय प्राङ्गणमा भव्य समारोह हुने तयारी गरिएको गाउँपालिकाले बताएको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे रहनेछन्। कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरू गायक सानु के.सी., राजेन्द्र भण्डारी, गायिका स्मृति गौतम, रिना बिष्ट लगायतका कलाकारहरूले तीजको प्रस्तुति दिने छन भने कार्यक्रमको संचालन वाइ.पी. घिमिरेले गर्नेछन।
गाउँपालिकाले यस कार्यक्रमलाई सांस्कृतिक ऐक्यबद्धता, महिला सशक्तीकरण र स्थानीय उत्पादनको प्रवर्द्धनसँग जोडिएको बताएको छ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले कार्यक्रममार्फत महिलाहरूबीच भेटघाट, रमाइलो र सांगीतिक प्रस्तुति सँगसँगै ‘कोसेली घर’ सञ्चालनमार्फत स्थानीय वस्तु र उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।










