‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित एमालेको दोस्रो विधान महाधिवेशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारासहित सञ्चालन हुने यस महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेस गर्नेछन्, जसमा समूहगत छलफल हुनेछ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टीका चुनौती र कार्यदिशा, कार्यभार लगायतका विषय समेटिएका छन् । यसमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने प्रस्ताव र ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यका रूपमा अघि बढाउने मार्गचित्र प्रस्तुत हुनेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ