मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा सुरु

भादगाउँ (भक्तपुर)। मध्यपुरथिमिमा आज ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ

आश्विन शुक्ल पूर्णिमाको अवसरमा मध्यपुरथिमिमा साँझ सात बजे दिगुभैरव डबलीबाट ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ सुरु हुँदैछ। यस जात्रालाई निरन्तरता दिँदै साहसी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने परम्परा पूरा गर्दै नगर परिक्रमा गर्नेछन्।

मध्यपुरथिमिमा दुई प्रकारका जिब्रो छेड्ने जात्रा प्रचलित छन्। पहिलो बिस्काः जात्रामा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा एक जनाले मात्र जिब्रो छेड्छन्। दोस्रो इन्द्रजात्राको भोलिपल्ट, आश्विन शुक्ल पूर्णिमामा मनाइने थिमि जात्रामा एकभन्दा बढी व्यक्ति पनि जिब्रो छेड्न सक्छन्। यस जात्रामा निश्चित प्रदिक्षामार्ग नहुने र इच्छाअनुसार रुट तय हुने विशेषता छ।

वीरेन्द्रभक्तले गत वर्ष पशुपतिनाथको दर्शन गरे, भने यस वर्ष दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गर्ने योजना बनाएका छन्। जात्राको सुरुमा दिगुभैरव मन्दिर अगाडि जिब्रो छेडिएपछि महादीप काँधमा बोकी नगरमा घुमाइन्छ। अन्त्यमा बालकुमारी मन्दिरमा पुगेपछि सुइरो हटाइ माटो हालेर जात्रा सम्पन्न गरिन्छ।

जात्राको तयारीका लागि कमीनायोले एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्छन्। जात्राको अघि भालेसहित बलि पूजा, द्य सालेगु पूजा र छोय्ला ब्व भ्वये खाने परम्परा पालन गरिन्छ।

यस वर्ष जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रतिनिधिसभा सदस्य दुर्लभ थापा लगायतको उपस्थिति रहने नगरपालिकाले जानकारी दिएको छ।

इन्द्रदहमा पनि श्रद्धालुको भीड
भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदहमा आश्विन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। यहाँ भक्तजन इन्द्रायणी देवीको पूजा आराधना गरी स्नान गर्छन्। स्थानीय विश्वास अनुसार, यसले पारिवारिक सुख, समृद्धि र रोग निवारणमा सहयोग पुग्छ। इन्द्रदहमा वासुकी नागको पूजा पनि परम्परागत रूपमा गरिन्छ।

मध्यपुरथिमिको यस जात्रा र इन्द्रदहको पूजा संस्कृति, इतिहास र धार्मिक परम्पराको जीवित उदाहरणका रूपमा रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ