काठमाडौँ । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो घर अगाडि हालै पिच गरिएको बाटो चाँडै भत्किएको फोटो सार्वजनिक गर्दै यसलाई वर्तमान अव्यवस्थाको उदाहरणका रूपमा प्रस्तुत गरे।
आचार्यले लेखे, “मेरो घर छेउको बाटो पिच भएको केही दिनमै भत्कियो। म हरेक दिन मनमा प्रश्न गर्थेँ— यो बाटो यति चाँडो किन भत्कियो? तर आजको पुस्ताले यस्ता प्रश्न मनमै राख्दैनन्, खुलेर प्रश्न गर्छन्। जनताको करले बनेको बाटो किन भत्कियो? यसको जिम्मेवारी कसको?”
उनले जनताले अहिलेका नेता र कर्मचारीबाट अझ बढी आशा गरेको उल्लेख गर्दै भने, “यो आवाज कुनै व्यवस्था विरोधी होइन, तर व्यवस्थालाई सञ्चालन गर्ने जिम्मेवारहरूमाथि प्रश्न हो। अब उमेर पुगेकाले आफ्नो कार्यक्षमता सुधार्ने वा युवा पुस्तालाई जिम्मेवारी सुम्पनु नै उत्तम हुनेछ।”










