सिंहदरबारलाई आकर्षक बनाउन मर्मत तथा रङरोगन कार्य जारी

जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै रूप दिन धमाधम मर्मतसम्भार र रङरोगन भइरहेको छ । प्रदर्शनपछि सुनसान बनेको राजनीतिक तथा प्रशासनिक केन्द्र अहिले पुनःनिर्माण र सरसफाइका कारण चहलपहल बढेको छ ।

आगोले जलेका भित्तामा पानीले पखाल्दै नयाँ रङ लगाइँदैछ । जलेर क्षतिग्रस्त झ्याल–ढोका, फर्निचर र करिब एक हजार सवारीसाधनको व्यवस्थापन पनि समान रूपमा अघि बढाइएको छ । कोही श्रमिक झ्याल–ढोका मर्मतमा व्यस्त छन् भने कोही बाँसको खट बनाएर भित्तामा रङ लगाइरहेका देखिन्छन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सिंहदरबारको पुनःनिर्माणलाई प्राथमिकता दिँदै तत्कालै काम अघि बढाउने निर्णय गरेअनुसार हाल तीव्र गतिमा काम भइरहेको हो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पनि पदभार ग्रहणका क्रममा “सिंहदरबारका कालो भित्तामा रङ लगाएर विनाशबाट उठ्यौँ भन्ने सन्देश दिने” प्रतिवद्धता जनाएका थिए ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारीले बिदाका दिनसमेत सरसफाइ र मर्मतमा जुटेर उदाहरण प्रस्तुत गरेका छन् । क्षतिग्रस्त मन्त्रालयहरूमा कर्मचारी ‘रोस्टर’ बनाएर हाजिरी गर्दै पुनःस्थापनामा सहयोग गरिरहेका छन् ।

गत भदौ २४ गतेको प्रदर्शनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि, भौतिक पूर्वाधार, शिक्षा, ऊर्जा, सहरी विकास र अर्थ मन्त्रालयमा ठूलो क्षति पुगेको थियो । साथै प्रमुख दलहरूका कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको थियो ।

गृह तथा स्वास्थ्य मन्त्रालयमा भने क्षति गम्भीर भएकाले सामान्य मर्मतले नपुग्ने र पुनःनिर्माण गर्नुपर्ने भएको छ । यता, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग भने आक्रमणबाट जोगिएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ