नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँमा पुगेको थियो । त्यसयता पुनः वृद्धि भई आज हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि बढ्दो क्रममा छ । आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार पाँच हजार १९५ रुपैयाँमा किनबेच भएको थियो ।
अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










