काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगर समितिको आयोजनामा नेपाली कम्युनिष्ट पार्टीको वडा नं. ४ देखि १० सम्मका अगुवा कार्यकर्ता भेला तथा बैठक सम्पन्न भएको छ। बैठक काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले नेपाली कम्युनिष्ट पार्टी अन्य दलसँग तुलना गर्न नमिल्ने, जनताको आवाज प्रत्यक्ष सुन्ने र जनताको पक्षमा काम गर्ने सच्चा जनताको पार्टी भएको दाबी गर्नुभयो। आफू निर्वाचित भएपश्चात् पनौती नगरका हरेक काम जनतासँगै बसेर, जनताको समस्या आफ्नै समस्या ठानेर समाधान गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
गौतमले करिब तीन दशकदेखि निरन्तर राजनीतिक यात्रामा रहँदै हरेक वर्ग, समुदाय र भुइँमान्छेका मागलाई सम्बोधन गर्दै आएको उल्लेख गर्दै यसपटक पनि जनताले विश्वास गरेर जिताएमा आवाजविहीनहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्न आफू लागिपर्ने बताउनुभयो। सबै जाति, वर्ग र समुदायको समान सम्मान र हकअधिकार सुनिश्चित गर्न पार्टी निरन्तर संघर्षरत रहेको उहाँको भनाइ थियो।
पनौती धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण नगर भएको उल्लेख गर्दै गौतमले यहाँको विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा देखिएका समस्याको पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र अघिल्ला जनप्रतिनिधिबाट अधुरा रहेका योजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। पनौतीलाई उज्यालो, समृद्ध, सफा र रमाइलो नगरका रूपमा विकास गर्ने लक्ष्यसहित आफू अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ निर्वाचन समिति संयोजक गंगा बहादुर दोङ (बमध्वज), केन्द्रीय सदस्य तथा प्रचार–प्रसार विभाग संयोजक अकल बहादुर थिङ (महेश), केन्द्रीय सदस्य सल्लाहकार तुइकाजी श्रेष्ठ, क्षेत्र नं. १ का समानुपातिक उम्मेदवार मिना पाख्रीन र रामदेबी तामाङ, प्रदेश कमिटी सदस्य दैबलाल घिसिङ (अनुशील) र श्रीजना थिङ, पनौती नगर इन्चार्ज होम बहादुर खुलाल, नगर अध्यक्ष हस्त बहादुर तामाङ, नगर सचिव बुद्ध तामाङ, युवा नेता कलम सापकोटा तथा पनौती नगर निर्वाचन संयोजक सन्त्वण केसी लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सन्त्वण केसीको अध्यक्षतामा सम्पन्न उक्त बैठक नगर तथा वडा कमिटी, युवा संगठनका प्रतिनिधिहरूको सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।











