बेथानचोक–पनौती रुटमा विद्यार्थी छुट लागू गर्न स्ववियुको माग

बेथानचोक। पार्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीलाई कानुनअनुसार यातायात सहुलियत (छुट) उपलब्ध गराउन माग गर्दै बेथानचोक गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । स्ववियु सभापति प्रकाश श्रेष्ठको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राणा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. १ का अध्यक्ष मधुसूदन दाहाल, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा लगायतको उपस्थितिमा बुझाइएको हो । कार्यक्रममा पार्वती बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

ज्ञापनपत्रमा बेथानचोक–पनौती सडकखण्डमा सञ्चालन हुँदै आएका यात्रुवाहक सवारी साधनहरूले सरकारले व्यवस्था गरेको विद्यार्थी सहुलियत लागू नगरेको उल्लेख गरिएको छ । नेपाल सरकारले विद्यार्थी आन्दोलनको मागअनुसार यातायातमा छुट सुविधा प्रदान गरिरहेको भए पनि उक्त रुटमा चल्ने सवारी साधनहरूले प्रचलित कानुनविपरीत विद्यार्थीलाई छुट नदिँदा विद्यार्थीहरू मर्कामा परेको स्ववियुको भनाइ छ ।

स्ववियुले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी विद्यार्थीले पाउनुपर्ने छुट सुविधा तत्काल कार्यान्वयन गराउन माग गरेको छ । साथै सात दिनभित्र समस्या समाधान नभए कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

स्ववियु सभापति प्रकाश श्रेष्ठले विद्यार्थीले कानुनअनुसार पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ