रास्वपाको चुनावी तयारी तीव्र, एकताबद्ध भएर निर्वाचनमा जानु अहिलेको मुख्य आवश्यकता : अधिकारी

काभ्रे । तिमाल गाउँपालिकाले वडा सदस्यदेखि वडा अध्यक्ष हुँदै गाउँपालिका अध्यक्षसम्मका आकांक्षीहरूलाई एकै ठाउँमा भेला गरेर चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बन्ने आकांक्षीहरूबीच भेला गराएर गतिविधिलाई अगाडी बढाएको हो ।

भेलामा रास्वपा काभ्रे जिल्ला संगठन उपप्रमुख कुमार अधिकारीले उम्मेदवार को बन्छ भन्नेभन्दा पनि पार्टी कसरी एकताबद्ध भएर निर्वाचनमा जान्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले पार्टीभित्र विभाजन र मनमुटाव निम्त्याउन नहुने बताए ।
काभ्रे जिल्ला संगठन उपप्रमुख अधिकारीले पार्टीको जितका लागि व्यक्तिगत महत्वाकांक्षा त्यागेर सामूहिक नेतृत्व र एकताको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

“मलाई पद चाहिएको छैन, मेरो भन्ने कुनै स्वार्थ छैन । म साधारण कार्यकर्ताका रूपमा रहेर पनि काम गर्न तयार छु । पार्टीले जसलाई उम्मेदवार बनाउँछ, म उसैलाई काँधमा बोकेर हिँड्न तयार छु,” अधिकारीले भने ।

काभ्रे जिल्ला संगठन उपप्रमुख अधिकारीले उम्मेदवार बन्ने आकांक्षा राख्नेहरूबीच अस्वस्थ प्रतिस्पर्धा भए त्यसले पार्टीलाई नै कमजोर बनाउने जानकारी गराउदै उम्मेदवार छनोटका क्रममा कसैको मन दुख्ने, असन्तुष्टि बढ्ने र त्यसकै कारण कार्यकर्ता विभाजित हुने अवस्था आउन नदिन नेतृत्व सचेत हुनुपर्ने धारणा राखेका थिए ।

“हामी एउटै पार्टीका कार्यकर्ता भएकोले झगडा गर्ने , एकअर्काविरुद्ध बोल्ने, छुट्टिने पनि होइनौँ । त्यसैले कसैलाई व्यक्तिगत रूपमा अघि बढाउने भन्दा तिमालका सबैलाई एक ठाउँमा उभ्याउनुपर्ने ” अधिकारीले भने । उनले उम्मेदवारका आकांक्षी धेरै हुनु पार्टीका लागि स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्न नसके समस्या आउन सक्ने संकेत धारणा राखेका थिए ।

सबैको भावना समेटेर साझा टिम निर्माण गर्नुपर्ने धारणा राख्दै तिमालको विकासका लागि व्यक्तिगत स्वार्थ र गुटगत सोच त्याग्नुपर्ने उल्लेख गर्दै सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।

निर्वाचनमा कसले टिकट पाउने विषयभन्दा तिमालमा जनताको विश्वास जित्ने र विकासको जिम्मेवारी पूरा गर्ने विषय ठूलो भएकोले आकांक्षी व्यवस्थापन, उम्मेदवार छनोट र असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नु पार्टीका लागि महत्वपूर्ण चुनौती भएको उनको भनाइ थियो ।

भेलाले उम्मेदवारको व्यक्तिगत दाबीभन्दा संगठनको निर्णय, आपसी सहकार्य र सामूहिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने सन्देश दिदै अब तिमालमा रास्वपाले चुनावी तयारीलाई संगठन विस्तार, स्थानीय जनताका समस्या, विकासका आवश्यकता र सुशासनका मुद्दासँग जोडेर अघि बढाउने भएको छ ।

सम्बन्धित खवर