लक्ष्मीनारायण मन्दिरको पूर्वाधार तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

बेथान्चोक । काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङस्थित लक्ष्मीनारायण मन्दिरको पूर्वाधार विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने सप्ताहबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

मन्दिरका लागि आवश्यक जग्गा खरिद, गुरुकुल भवन निर्माण र धार्मिक बाटिका विकासका लागि आर्थिक स्रोत जुटाउने सप्ताहको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। सप्ताहको पहिलो दिन मन्दिर परिसरबाट क्षेत्रपाल महाकाल हुँदै गेलुङ बजारस्थित श्रीकृष्ण प्रणामी मन्दिर, मुक्तेश्वर महादेव र बाह्रबिसेसम्म धार्मिक शोभायात्रा निकालेर पुनः मन्दिर परिसरमा फर्किएपछि उद्घाटन गरिने कार्यक्रम छ। सप्ताहमा प्रमुख वाचकका रूपमा १००८ स्वामी चक्रपाणी आचार्य रहनेछन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले यस क्षेत्रको धार्मिक अभियान नियमित भजनकीर्तनबाट विकसित भएको बताए। उनका अनुसार २०७३ सालदेखि धार्मिक गतिविधि विस्तार हुँदै आएको छ भने २०७४ भदौ १४ गतेदेखि प्रत्येक एकादशीमा अखण्ड भजनकीर्तन सञ्चालन भइरहेको छ। यही अभियानका कारण वर्षभरि विभिन्न धार्मिक अनुष्ठान र कार्यक्रम सञ्चालन गर्न सहज भएको उनले बताए।

अधिकारीका अनुसार स्वर्गीय भीमप्रसाद सापकोटाको परिकल्पनामा लक्ष्मीनारायण मन्दिर निर्माण सुरु भएको थियो। त्यसपछि स्थानीय समुदायको निरन्तर सक्रियतामा अन्य पूर्वाधार निर्माणको काम अघि बढेको हो। सप्ताहबाट प्राप्त सहयोगलाई जग्गा खरिद, अधुरो भवन निर्माण, गुरुकुल स्थापना र धार्मिक बाटिका विकासमा उपयोग गर्ने योजना रहेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गुरुकुलसहितको धार्मिक बाटिकालाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बताए। धार्मिक शिक्षा, सामाजिक संस्कार, अनुशासन र सांस्कृतिक पहिचानको संरक्षणमा यसले योगदान पुर्‍याउने उनको भनाइ छ। गाउँपालिकाले समपूरक योजनाअन्तर्गत उक्त क्षेत्रको विकासलाई प्राथमिकता दिएको उनले जानकारी दिए।

अध्यक्ष अधिकारीका अनुसार धार्मिक बाटिकासहितको पार्कलाई व्यवस्थित पर्यटकीय संरचनाका रूपमा विकास गर्ने र त्यसबाट स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका धार्मिक स्थलहरूको संरक्षण, प्रचारप्रसार र व्यवस्थापन गर्दै धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने योजना पनि अघि सारिएको उनले बताए।

उपाध्यक्ष तारा राना तिमल्सिनाले वडा नं. ३ को गैह्रीभञ्ज्याङ क्षेत्रलाई धार्मिक पर्यटनका दृष्टिले विकास गर्न सडक, मन्दिर, गुरुकुल शिक्षा र धार्मिक बाटिका निर्माणलाई प्राथमिकता दिइएको बताइन्।

वडा अध्यक्ष कुबेर ढकालले ११७ घरधुरीको सहभागितामा लामो समयदेखि धार्मिक गतिविधि सञ्चालन गर्दै आएको मन्दिर व्यवस्थापन समितिको योगदानको प्रशंसा गरे। गाउँपालिकाको गौरवको आयोजनालाई वडा कार्यालयले समेत सहजीकरण गर्दै आएको उनले बताए।

सप्ताह सञ्चालनका लागि गाउँपालिकालाई संरक्षक राखेर मूल समारोह समिति गठन गरिएको छ। पण्डित गुरु श्रीनिवास अधिकारीको संयोजकत्वमा गठित समितिमा उपाध्यक्ष कुमार घिमिरे, सचिव वेदप्रसाद तिमल्सिना र कोषाध्यक्ष रघुनाथ दाहाल रहेका छन्। आजीवन सदस्यसहित २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। सप्ताहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, वडा नं. ४ का अध्यक्ष कृष्ण पाख्रिन, पूर्ववडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, समाजसेवी मछिन्द्र लामा, वडा सदस्य, सञ्चारकर्मी तथा वैष्णव परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रम आयोजक समितिका उपाध्यक्ष कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। समितिका सचिव वेदप्रसाद तिमल्सिनाले सप्ताहको कार्यक्रम र निर्माण योजनाबारे जानकारी गराएका थिए।

सम्बन्धित खवर