तेमाल, काभ्रे । नेपाली कम्युनिस्ट पार्टीले काभ्रेको तेमाल गाउँपालिकामा राष्ट्रिय जागरण अभियान शुरु भएको छ। अभियानको प्रचार विभाग प्रमुख दलमान थोकर (डीएम लामा)को नेतृत्वमा तेमालका वडाहरुमा अभियान शुरु गरिएको हो।
पार्टी संगठनलाई गाउँगाउँ र टोलटोलसम्म विस्तार गर्ने, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा स्थानीय समस्याको पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो।



अभियानअन्तर्गत संगठन सुदृढीकरण, सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, राजनीतिक तथा वैचारिक प्रशिक्षण र जनताका गुनासा तथा सुझाव संकलनलाई प्राथमिकता दिएको छ।
अभियानका क्रममा जनजीविका, विकास निर्माण, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनअधिकारका सवालमा जनस्तरमा छलफल तथा अन्तरक्रिया गरिने पार्टीले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका वडा स्तरसम्म अभियान विस्तार गर्ने जनाएको छ। मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीसँग समेत जोडिएको छ।






