तेमाल–२ मा नेकपाको राष्ट्रिय जागरण अभियान उद्घाटन, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

काभ्रे । नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियानअन्तर्गत काभ्रेको तेमाल गाउँपालिका–२ मा वडा समितिको आयोजनामा अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। पार्टीका केन्द्रीय नेतृत्व, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यको उपस्थितिमा आयोजित कार्यक्रमले पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय र व्यवस्थित बनाउने सन्देश दिएको छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), विशेष अतिथि पूर्व सांसद गंगाबहादुर दोङ (बमध्वज) तथा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रत्नप्रसाद ढकालले संयुक्त रूपमा अभियानको उद्घाटन गरेका हुन्।
पार्टीले राष्ट्रिय स्तरमै सञ्चालन गरेको दुईमहिने अभियानलाई गाउँ, वडा र टोलसम्म विस्तार गर्ने क्रममा तेमाल–२ मा पनि कार्यक्रम आयोजना गरिएको हो। अभियानको उद्देश्य केवल पार्टीका कार्यक्रम सञ्चालन गर्नुमा सीमित नभई जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या, गुनासा, आलोचना र सुझाव सुन्ने तथा संगठनलाई जनताको जीवन र आवश्यकतासँग जोड्ने रहेको छ।
पार्टीले अभियानमार्फत संगठन समायोजन, सदस्यता नवीकरण तथा विस्तार, राजनीतिक एवं वैचारिक प्रशिक्षण र जनसम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। साथै महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या तथा जनजीविकाका सवाललाई जनस्तरबाट उठाउने कार्यक्रमसमेत अघि सारेको छ।
लामो राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रिय स्वाधीनता र जनअधिकारको संरक्षण गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने विषय पनि अभियानको राजनीतिक एजेन्डाका रूपमा अघि सारिएको छ।
काभ्रेका १३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको अभियानलाई वडा स्तरसम्म पुर्‍याउने पार्टीको योजना छ। आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राख्दै संगठनको अवस्था बुझ्ने, कार्यकर्तालाई परिचालन गर्ने, जनताको अपेक्षा पहिचान गर्ने र स्थानीय राजनीतिक परिस्थितिको अध्ययन गर्ने कामलाई अभियानसँग जोडिएको छ।
तेमाल–२ मा सम्पन्न उद्घाटन कार्यक्रमलाई पनि यही जिल्लाव्यापी संगठनात्मक तथा राजनीतिक अभियानको एक महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ। पार्टीले मंसिर २५ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानमार्फत संगठनात्मक एकता, जनतासँगको सम्बन्ध र स्थानीय मुद्दामा राजनीतिक पहलकदमीलाई अघि बढाउने लक्ष्य राखेको छ।

सम्बन्धित खवर