काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सिन्धुली–काठमाडौं सम्पर्क समितिको जिल्ला एकता बैठक तथा राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। एकताको भावनालाई संगठनको तल्लो तहसम्म स्थापित गर्दै संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सन्देश बालाजुमा आयोजित बैठकले दिएको छ।
पार्टीको एकता प्रक्रियालाई संस्थागत गर्दै नेता तथा कार्यकर्ताबीचको समन्वय, संगठन विस्तार र राजनीतिक गतिविधिलाई जनतासँग जोड्ने विषय बैठकका महत्वपूर्ण प्राथमिकताका रूपमा रहेका छन् । कार्यक्रममा सिन्धुली जिल्ला इन्चार्ज तथा निवर्तमान प्रतिनिधिसभा सदस्य कमरेड राजन दाहाललगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रम कमरेड दिलकुमार माझीको सञ्चालन तथा कमरेड जगत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।



बैठकले महत्वपूर्ण संगठनात्मक निर्णय गर्दै राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तारको कार्यक्रम मात्र नभई जनताका समस्या, जनजीविका र समसामयिक राजनीतिक सवालसँग जोड्ने अभियानका रूपमा अघि बढाउने पार्टीको घोषित उद्देश्य रहेको छ।






