मकवानपुर, मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख विष्णु बहादुर बिष्टले आज एक कार्यक्रमबीच अस्पतालको औपचारिक उद्घाटन गरेका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ अनुसार स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शय्याका आधारभूत अस्पतालको व्यवस्थापन, सेवा प्रवाह, जनशक्ति तथा न्यूनतम सेवा मापदण्ड निर्धारण गरिएको छ। सोही मापदण्डअनुसार पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको थाहा नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो।



अस्पतालको प्रभावकारी व्यवस्थापन, सञ्चालन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन उद्घाटनकै अवसरमा नयाँ अस्पताल सञ्चालन समिति समेत गठन गरिएको छ। कार्यविधिअनुसार नगर प्रमुख विष्णु बहादुर बिष्टको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा नगर उपप्रमुख भरत गोपाली रहेका छन्।
त्यसैगरी समितिको सदस्यमा सामाजिक विकास समिति संयोजक दिनेश बल, वडा नं. ४ का अध्यक्ष नारायण लामा, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी र अस्पतालका प्रमुख डा. जोनशन बिक सदस्य सचिव रहेका छन्।
समितिमा कार्यपालिकाले तोक्ने गरी थप दुई जना महिला सदस्य रहने व्यवस्था गरिएको छ। थाहा नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। अस्पतालको सेवा विस्तार, व्यवस्थापन र गुणस्तर सुधारमार्फत नगरवासीलाई आफ्नै स्थानीय तहमा थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।






