काभ्रे – आज भाद्र कृष्ण औँसीको दिन देशभर कुशेऔँसी पर्व श्रद्धा, आस्था र पौराणिक विश्वाससहित मनाइँदै छ। सनातन धर्मशास्त्रअनुसार यस दिन काटिएको कुशलाई देवकार्य, पितृकार्य र समस्त मागलिक कर्मका लागि पवित्र र अनिवार्य मानिन्छ।
पौराणिक ग्रन्थहरूमा कुशलाई भगवान् विष्णुको स्वरूप मानिएको छ। विष्णुपुराणमा उल्लेख भएअनुसार क्षीरसागरमा भएको समुद्र मन्थनको समयमा भगवान् विष्णुको शरीरबाट निस्केको तेजोमय रोमांशबाट कुश उत्पन्न भएको उल्लेख छ। त्यसैले कुशलाई “पवित्र शक्ति” का रूपमा लिइन्छ। यज्ञ, श्राद्ध, तर्पण तथा अन्य धार्मिक अनुष्ठान कुशबिन अधूरो हुने मान्यता छ।
यस दिन पुरोहितले वेदमन्त्रसहित काटेको कुशलाई यजमानले घरमा ल्याई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने प्रचलन रहँदै आएको छ। यो कुशले वर्षभर घरलाई अशुभ शक्तिबाट रक्षा गर्ने विश्वास गरिन्छ।
यसै दिनलाई नेपाली समाजले बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाउने गर्छ। पौराणिक दृष्टिले पिता विष्णुको अंश र मातालाई लक्ष्मीको अंश मानिएकाले दुबैको सम्मान गर्नु संतानको परम कर्तव्य भनिएको छ। यस दिन छोराछोरीले बाबुलाई खानेकुरा, कपडा तथा दक्षिणा अर्पण गरी दीर्घायु, स्वास्थ्य र सुखसमृद्धिको कामना गर्छन्।
काठमाडौं उपत्यकाको नेवार समुदायमा सुरु भएको “आमाको मुख हेर्ने” र “बाबुको मुख हेर्ने” संस्कार विस्तारै सम्पूर्ण नेपाली समाजमा आत्मसात भएको बताइन्छ।
धार्मिक आस्थासँगै पितृपूजा र पारिवारिक सम्मान जोडिएको यस दिनले श्राद्ध संस्कारको प्रारम्भिक संकेत दिन्छ। यस अवसरमा गरिने पूजा, दान र व्रतले पितृहरू तृप्त हुने र वंश परम्परामा पुण्य सञ्चय हुने धार्मिक विश्वास रहिआएको छ।










