डोटी । आज सुदूरपश्चिम प्रदेशमा परम्परागत ‘बुढी पोल्ने’ पर्व उत्साहका साथ मनाइँदै छ। हरेक वर्ष असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा यस पर्वलाई विजयोत्सवका रूपमा मनाउने परम्परा रहिआएको छ।
स्थानीय कमलसिंह विकका अनुसार ‘बुढी पोल्ने’ पर्व भगवान् श्रीकृष्णले राक्षसी पूतनालाई पराजित गरेको स्मरणमा मनाइन्छ। भदौ १ गते बिच बाटामा गाडिएका सल्ला, बाँझ, निगालोका हाँगाबिँगा पूतना बुढी अर्थात् राक्षसी पूतनाको प्रतीक मानिन्छन्।
आजका दिन ती प्रतीकलाई गाउँलेहरू मिलेर जलाउने चलनलाई ‘बन्दुनी जलाउने’ भनिन्छ। बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खाने, लुतो फाल्ने र खुसीयाली साट्ने प्रचलन छ।
यससँगै, घर फर्किने क्रममा बाटोमा दियालो गाड्ने चलन पनि रहिआएको छ। यसै कारण आजको दिनलाई सुदूरपश्चिममा ‘बन्दुनी सङ्क्रान्ति’ नामले पनि चिनिन्छ।










